विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी
वि.सं.२०७५ फागुन २६ आइतवार १३:३१
shares

काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ। उहाँले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताउनुभयो।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित द ब्रिटिस कलेजका एक जना शिक्षकले सुनाएको बताउनुभयो।
उहाले भन्नुभयो– ‘मेरो छोरा कलेजको टुरमा दुबई गएको थियो। तर, दुबईमै निधन भएको दुःखद खबर कलेजका एक जना शिक्षकले फोन गरेर सुनाउनुभएको हो। छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरेको स्पष्ट पार्नुभयो।
भ्रमण दलमा सहभागी कलेजका शिक्षिका रिना श्रेष्ठ, नवीना महर्जन र छोरासँगै समुद्रमा पौडी खेल्न गएका उसका साथी निषेश सुवेदीको बयान नै फरक–फरक देखिएको उहाँले सुनाउनुभयो। कलेजको जिम्मेवार व्यक्ति सिइओ नरेन्द्र कँडेल लण्डनमा रहेको सुनाउँदै श्रेष्ठले तुरुन्त काठमाडौं आएर कँडेलले आफूसँग सम्पर्क गर्नुपर्ने माग गर्नुभयो।
उक्त कलेजले अनावश्यक कमाउने उद्देश्यले विद्यार्थी विदेश लैजाने गरेको आरोप लगाउँदै उहाले भन्नुभयो– ‘यसतर्फ राज्यले विशेष ध्यान पु¥याउनुपर्छ। कलेजले विद्यार्थीहरुसँग मोटो रकम असुलेर यसरी नै व्यापारीकरण गरिरहेको छ। यस्तो कलेजको अनुमतिपत्र नै खोस्नुपर्छ । यतातर्फ सरकारको यथाशिघ्र ध्यान जाओस्।
आफ्नो छोराको शव घर पठाउँदासमेत कलेजले लापरबाही गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘सुरुमा कलेजले छोराको शव पठाउँछु भन्यो, तर पछि कलेजले फोन गरेर शव वाहनको पैसासमेत मलाई तिर्न लगायो। पैसा तिर्नु ठूलो कुरा होइन, तर कलेजले अमानवीय व्यवहार देखायो।
दुबईमा आफ्नो छोरा हराएको ८ घण्टापछि मात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजी गर्नु नै रहस्यमय भएको बताउँदै उहाँले थप्नुभयो– ‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो।
घटना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ। उहाँले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई किन सहभागी गराइयो ? भन्दै प्रश्नसमेत गर्नुभयो। आफूले छोराको शव नबुझ्दासम्म कलेजले निकै चासो देखाएको तर दाहसंस्कार गरिसकेपछि कुनै वास्ता नगरेको दुःखेसो पोख्दै श्रेष्ठले भन्नुभयो– ‘वास्ता त गरेन गरेन, उल्टै ममाथि अभद्र व्यवहार गर्यो। अपशब्द बोल्यो।































