महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

5.72K
shares

कास्की। 

महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको छ ।

तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २० महिला जनप्रतिनिधिको सहभागिता थियो । फागुन १६ देखि १८ गतेसम्म दिएको प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानूनका बारेमा जानकारी गराउनुभएको थियो । मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ का प्रमुख विशेषता तथा त्यसमा महिला तथा बालबालिकाका बारेमा उल्लेख भएका प्रावधानका बारेमा उहाँले प्रशिक्षण दिनुभएको हो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले महिला सशक्तीकरण तथा क्षमता विकास र प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बजेट तथा स्थानीय तह सञ्चालन ऐन, जनप्रतिनिधिको क्षेत्राधिकार तथा वडा र कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तालीम समापन अवसरमा उपाध्यक्ष दवाडीले अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र कानूनबारे जानकारी नहुँदा समस्या हुने गरेको बताउँदै कानूनी साक्षरताका लागि गाउँपालिकाले प्रशिक्षण अभियान नै थालेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधिले संविधान, ऐन, कानून तथा कार्यविधिको राम्रोसँग अध्ययन गर्नुपर्ने र कानून निर्माणकर्तासमेत भएकाले बढीभन्दा बढी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चालू आर्थिक वर्षको महिला लक्षित स्वीकृत वार्षिक कार्यक्रमअनुसार क्षमता विकाससम्बन्धी तालीम प्रदान गरिएको बताउँदै गाउँपालिका महिला विकास निरीक्षक एवं तालीम संयोजक रीता थापाले यसबाट काम गर्ने क्रममा आइपर्ने समस्याको उचित कानूनी समाधानमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083