प्रधानमन्त्रीको गृहजिल्लामा अलपत्र पुलको अनुगमनमा भौतिक पूर्वाधारमन्त्री

Nepal Life Insurance Long Ad

झापा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हुलाकी राजमार्गअन्तर्गत एक दशकदेखि अलपत्र झापाका तीन ठूला पुलको शनिबार निरीक्षण गरेका छन् । मन्त्रालयका सचिवदेखि हुलाकी राजमार्ग र सडक विभागका अधिकारीसहितको टोलीको नेतृत्व गर्दै अनुगमन गरेपछि उनले भने, ‘आफ्नै आँखैले देखियो, जनताले गुनासो त गरेको ठिकै रहेछ ।’

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा वर्षौँदेखि अलपत्र परेका माई, रतुवा र बिरिङ खोलामा अलपत्र पुलबारे गत शुक्रबार नयाँ पत्रिकाले ‘उद्घाटनको प्रतीक्षामा प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा १३ वर्षदेखि अलपत्र पुल’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि मन्त्री नेम्वाङले सम्बन्धित निकायका अधिकारीसहित स्थलगत निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि मन्त्री नेम्वाङले जनताले गुनासो गरेजस्तै निर्माणाधीन पुलहरू अलपत्र अवस्थामा रहेको पाएको बताए । ‘हुलाकी राजमार्गअन्तर्गत मुख्यतः तीन पुलको अवस्था हामीले निरीक्षण र अनुगमन ग¥यौँ । यी पुलको अवस्था जनताले गुनासो गरेकोजस्तै अलपत्र छ । यो हाम्रै आँखाले हे¥यौँ,’ उनले भने ।

मन्त्री नेम्वाङले मातहतका निकाय र पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन पनि दिए । ‘यहाँ हामी मन्त्रालयका सचिव, हुलाकी राजमार्गका महानिर्देशकदेखि सडक विभागसम्मका सबै प्रतिनिधि छौँ । अब यस्तो सुस्त गतिमा काम गरेर हुँदैन,’ मन्त्री नेम्वाङको निर्देशन थियो, ‘कार्ययोजना बनाएर द्रुत गतिमा काम गर्नुहोस् । तीन सिफ्टसम्म काम गरेर भए पनि छिटोभन्दा छिटो काम सक्नुहोस् ।’ मन्त्रीको अनुगमन टोलीमा मन्त्रालयका सचिव, हुलाकी राजमार्गका महानिर्देशकदेखि सडक विभागका प्रतिनिधिलगायत अधिकारी थिए ।

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्ज र मोरङको रतुवामाई जोड्ने रतुवाखोलाको पुल १३ वर्षदेखि अलपत्र छ । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष ०६४÷६५ मा कालिका–ओसिए जेभीलाई निर्माणको ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजारमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि अधुरो पुल बनाएर हिँडेको छ । ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न भएको भन्दै सरकारको जिम्मा लगाए पनि पुलको लम्बाइ खोलाको चौडाइभन्दा कम भएपछि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । खोलाको चौडाइ चार सय मिटर छ, जब कि पुल दुई सय पाँँच मिटर मात्रै बनाइएको छ ।

त्यस्तै, कन्काई माईको पुल पनि लामो समयदेखि अलपत्र छ । सुरु गरेको आठ वर्ष बित्दा पनि निर्माण कम्पनीले काम सकेको छैन । पुलको पिल्लर लगाउनेबाहेक केही पनि काम भएको छैन । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज र झापा गाउँपालिका जोड्ने यो पुल चार वर्षभित्र सक्ने गरी ०६८ जेठमा पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ३४ करोडमा ठेक्का लिएका थिए । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो । तर, अहिले पुल निर्माण अलपत्र छाडेका छन् ।

झापाको अर्को ठूलो नदी बिरिङमा निर्माणाधीन पुलको पनि उस्तै हालत छ । तीन सय १९ मिटर लामो पुल निर्माण सुरु भएको एक दशक हुनै लाग्यो । तर, पिल्लर ठड्याउनेबाहेक केही काम हुन सकेको छैन । यो पुल निर्माण गर्न ०६८ वैशाखमा लामा-मैनाचुली जेभीले १५ करोड ५० लाख ५८ हजारमा ठेक्का लिएको थियो । मैनाचुली कन्स्ट्रक्सन दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका श्रीमान् मदन अधिकारीको हो । उनी प्रधानमन्त्री ओलीसँग पहँुच भएका निर्माण व्यवसायी हुन् । ०७३ पुसमा सम्पन्न गर्नुपर्ने यो पुल अहिलेसम्म अलपत्र छ ।

यी तीन ठूला नदी वारपार गर्न नागरिकले बर्खामा डुंगामा दुई सय रुपैयाँसम्म तिर्नुपर्छ । हिउँदमा बाँसको पुलबाट तर्छन्, तर त्यसको पनि मान्छे मात्रै गएको २०, साइकलसहित ३० र मोटरसाइकलसहित ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । हुलाकी राजमार्गअन्तर्गत झापामा मात्र आठ पुल अलपत्र छन् । तर, मन्त्री नेम्वाङले भने तीन ठूला पुलको मात्र निरीक्षण गरेका हुन् ।

लामो समयसम्म पुल नबनेको समाचार आएपछि मन्त्री नेम्वाङ शनिबार साँझ झापा आइपुगे । र, साँझ अबेरसम्म प्रमुख तीन पुलको अवलोकन गरे । भद्रपुर विमानस्थलबाट हुलाकी राजमार्ग हुँदै उनी बिरिङ नदीसम्म आए । उनी सवार गाडी बिरिङ नदीबाटै पार ग¥यो । तर, जिल्लाकै ठूलो माई नदी पार गर्न नसकेपछि मन्त्री नेम्वाङ झापा गाउँपालिका हुँदै पूर्व–पश्चिम राजमार्गमा आएर रतुवाको पुल निरीक्षणमा गएका थिए । नयाँ पत्रिका दैनिकमा चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

२९ मंसिर २०७७, सोमवार ०८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु