गणतन्त्र दिवसका अवसरमा ५०१ जनाको कैद सजाय माफी

4.12K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गरेका छन् । आइतबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार रेशम चौधरी र टोपबहादुर बुढासमेतका १९ जनालाई कैद सजाय माफी दिएका हुन् । उक्त १९ जना व्यक्तिको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी भएको हो ।

“मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिस अनुसार टोपबहादुर बुढासमेतका १९ व्यक्तिहरुको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।

“यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बू समेतका चार सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका सात जना गरी जम्मा चार सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ”, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


divya collage
unigloble collage