पकुवामा पानी झरेपछि हर्षले रोए हर्क

3.97K
shares

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको २० नम्बरको पकुवामा सोमबार मध्यराति १२ बजेर ३ मिनेटमा कोकाहा खोलाको पानी झर्‍यो ।

धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।

पानी आएपछि भावुक हुँदै आँसु झारेका मेयर साम्पाङ केहि बेर बोल्नै सकेनन् । पानी कुरेर जागराम बसेका मेयर साम्पाङ हातमा हथौडा बोकेर पाइपबाट झरेको पानी छेउमा उभिएर एक छिन रोए, अनि पानी हातले फिजाउँदै सबैतिर छर्के, आफ्नो शरिर भिजाए । त्यो देखेर पानी कुरेका धरानबासी पनि सँगै रोए, हल्ला गरे, नारा लगाए ।

‘दुई दिन देखि कोकाहको पानी नझारी घर नै नजाने भनेर मेयर साब २० नम्बर वडाको पकुवा नजिक खोला मै थिए, पानी झेरपछि मेयरले आँसु थाम्न सकेनन्, त्यो देखेर हामी सबै रायौं,’ मध्यरातमा पानी झरेको ठाउँमा पुगेका रसिक थेबे भन्छन् ।

मेयर राईले भावुक हुँदै घर नजाने घोषणा गर्दै रातभरी पकुवा खोला किनारमा बसे । पानी झरेको हेर्न आउनेलाई उनले भने, ‘भोलि धरानमा उत्सव मनाउन आउनु होला, कोकाह खोलाको पानीले नुवाउनुपर्छ ।’

सँगै गएका सहयात्रीहरुका अनुसार मेयर निर्वाचित भएदेखि सबैभन्दा खुशी सोमबार राति नै देखिए। पानी झेर पछि धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा पनि पकुवा पुगेका थिए ।

‘हामीलाई कतिले फोक्कडमा दुख गरेको भन्दै आलोचना गरे, तर आज पानी ल्याउन सफल भएका छौं,’ मेयर राईको सामाजिक सञ्जालमा हालिएको भिडियोमा श्रम अभियान्ताहरुले भनेका छन् ।

साम्पाङ सँगै खानेपानी ल्याउने अभियानमा रहेर अहिले सचिवालय सदस्य रहेका थेबेका अनुसार विष्णुपादुकाको शीरबाट पहाड र भीरको बाटो पाइप उचाल्दै ९८ दिनमा पकुवामा खानेपानी झारिएको हो ।

‘कोकाहको पानी पकुवामा साढे ५ मिटरको पाइपभरी ल्याइएको छ, अब ३ वटा ट्यांकीमा जम्मा गरेर वितरण गर्छौं ।’

थेबेका अनुसार कोकाहको पानी ल्याउन सरकारी पैसा खर्च भएको छैन । श्रमदाताहरुले आफैंले पैसा उठाएर, कतिपयले पाइप  नै किनेर खानेपानी ल्याएका हुन् । उनी भन्छन् ‘अब हाम्रो धरानमा खानेपानीको त्यति धेरै समस्या हुँदैन, पानी आएको उपलक्ष्यमा धरानमा उत्सव नै हुँदैछ, सबैजना कोकाहको पानीले नुवाउँदै छन् ।’

हर्क साम्पाङ राईले सुरु गरेको श्रम अभियानबाट कोकाहा भन्दा अगाडि पकुवा, सर्दु–खुर्द, निशाने खोला, तामाखान, भालु खोलाको मुहानमा ट्यांकी बनाएर पाइप जोडिएको छ ।

कतिपय मुहानमा केहि दिनअघि पानी सुकेर समस्या आए पनि अहिले फेरि विस्तारै पानी आउन थालेको थेबे बताउँछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083