महिला फुटबल टोली स्वदेश फर्कदै

२०७५ कात्तिक २८ बुधवार
1K
shares
काठमाडौँ । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।
नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो । छनोट प्रतियोगिताको नियमअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसैअनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो । नेपाल रहेको समूहबाट म्यानमा विजेता र भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेका छन् । बङ्गलादेश भने समूह चरणबाटै बाहिरिएको छ ।
नेपाली टोलीमा गोलकिपरमा एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

२०७५ कात्तिक २८ बुधवार