बंगलादेशद्वारा जिम्बाब्वे २ सय १८ रनले पराजित

4.43K
shares

एजेन्सी । मेहदी हसन मिराजले पाँच विकेट लिएपछि बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो टेस्ट २ सय १८ रनले जितेको छ । जितसँगै दुई खेलको टेस्ट शृंखला बंगलादेशले बराबरी गरेको छ ।

ढाकाको मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा ४ सय ४३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले अन्तिम २ सय २४ रन बनाउँदा सबै विकेट गुमायो । ७६–२ को स्थितीबाट पाँचौं दिनको शुरुआत गरेको भ्रमणकारी जिम्बाब्वेका लागि दोस्रो इनिङ ब्रेन्डन टेलरले शतक बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

चौथो दिन कप्तान ह्यामिल्टन मासाकाड्जाको विकेट लिएका मेहदी हसन मिराजले अन्तिम दिन थप चार विकेट लिए । उनले पहिलो इनिङमा पनि ३ विकेट लिएका थिए । पहिलो इनिङमा ५ विकेट लिएका तैजुल इस्लामले २ विकेट लिए । टेलर १ सय ६ रनमा अविजित रहे । टेलरले पहिलो इनिङमा पनि १ सय १० रन बनाएका थिए । पहिलो इनिङमा ८३ रन बनाएका पिटर मुर १३ रन बनाएर पवेलियन फर्किए ।

मुस्फिकर रहिम र मोमिनुल हकले शतक बनाएपछि बंगलादेश ७ विकेट गुमाएर ५ सय २२ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषण गरेको थियो । पहिलो इनिङमा जिम्बाब्वेले ३ सय ४ जोड्दा सबै विकेट गुमाएको थियो । महमुदुल्लाहले १ सय १ तथा मोहम्मद मिथुनले ६७ रन बनाएपछि बंगालदेशले ६ विकेट गुमाएर २ सय २४ रन जोड्दा दोस्रो इनिङ समाप्तीको घोषण गरेको थियो ।

पहिलो टेस्ट जिम्बाब्वेले १ सय ५१ रनले जितेको थियो । त्यसअघि तीन खेलको एकदिवसीय शृंखला बंगालदेशले क्विनस्विप गरेको थियो ।