‘ए’ डिभिजन लिग : दुई क्लबबीच भीडन्त, आज ११ः३० बजे खेल सुरु

२०७५ मंसिर २ आइतवार
909
shares
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई वटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुने छ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
खेल हुनुअघि आइतबार बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्यरूपमा नलिने बताए । “हामीले भखरै नवलपरासीमा राइनो कप खेलेर आएका छौँ, उक्त प्रतियोगितामा आफ्नो कमी कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौँ । मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैंतिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताए ।
त्यसैगरी आइतबार नै हुने दोस्रो खेलमा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेटब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो । थ्रीस्टारका लागि आइतबार निकै खुशीको कुरा छ । क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदान फर्कंदै छन् ।
चोटका कारण करीब ८ महिना मैदान बाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् । लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेडब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिए ।

२०७५ मंसिर २ आइतवार