विमलले लिगका बाँकी खेल नखेल्ने

5.55K
shares

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन्। यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन्। क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए। यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए।

जारी लिगका दुई खेल सकिँदासम्म विमलले गोल गर्न भने सकेका छैनन्। यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ। लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा छ। पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा यसै वर्षदेखि खेलेका हुन्। विमललाई लिन अन्य क्लबहरूले प्रयास गरे पनि अन्तिममा च्यासल गएका थिए। चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल्दै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन्। उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083