‘ए’ डिभिजन लिग : मंगलबार दुई खेल हुँदै

4.99K
shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार दुई वटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो । तीन खेलबाट समान तीन अङ्क जोडेका सरस्वती युथ र ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौँ र दशौँ स्थानमा छन् ।

सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ । लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो । एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । तेस्रो चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083