३२६ रन बनाएर पनि न्यूजिल्याण्डसँग हार्यो श्रीलंका
वि.सं.२०७५ पुस १९ बिहीवार १७:०३
shares

काठमाडौं । न्यूजिल्याण्ड र श्रीलंकाबीचको सिरिजको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डसँग श्रीलंका पराजित भएको छ । बाय ओभलमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ४५ रनले पराजित गरेको हो । ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरको अन्तिम ओभर बाँकी छँदा ३२६ रन बनाउँदै अलआउट भयो ।
श्रीलंकाका लागि कुशल परेराले शतक बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ८६ बलमा १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, निरोशान डिक्वेल्लाले ७६ रन बनाएका थिए । उनले ५० बलमा आठ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, श्रीलंकाका लागि दनुस्का गुनथिलकाले ४३ रन बनाएका थिए । श्रीलंकाले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि निरोशान र दनुस्काले ११९ रनको साझेदारी गरेका थिए ।
न्युजिल्यान्डका जितमा जेम्स निशामले अलराउण्डर प्रदर्शन गरे । उनले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३७१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले १३८ रन बनाए । उनले १३९ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, कप्तान केन विलियम्सनले ७६, रोस टायलरले ५४ रन बनाए । त्यस्तै, आक्रमक ब्याटिङ गरेका जेम्स निशामले मात्र १३ बलमा अविजित ४७ रन बनाए ।


























