महिला टि-२० क्रिकेट : उपविजेता नेपाली टोली स्वदेश फर्किंदै
वि.सं.२०७५ माघ ६ आइतवार ११:५६
shares

काठमाडौं । थाइल्याण्डमा भएको वुमन ट्वान्टी–२० स्म्यासमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्किदैछ । दिउँसो १ बजे थाई एयरबाट टोली काठमाडौं आइपुग्ने जनाइएको छ ।
शनिबार फाइनलमा नेपाल आयोजक थाइल्याण्डसँग ७० रनले पराजित हुँदै उपविजेता भएको थियो । समूह र सेमिफाइनलसम्म सहज जित निकालेको नेपाल फाइनलमा १ सय २२ रनको लक्ष्य पछ्यायने क्रममा ५१ रनमै अलआउट भएको थियो । नेरी थापाले १७ तथा र उपकप्तान सीता रानामगरले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न नसक्दा नेपालले सुनौलो अवसर गुमाएको थियो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा रहेपनि सफल हुन सकेन ।
नेपालले समूहको पहिलो खेलमा चीनमाथि १० विकेटको नतिजा निकालेको थियो । दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार युएईमाथि ६ विकेट र समूहको अन्तिम खेलमा आयोजक थाइल्याण्डको ए टोलीविरुद्ध ९ विकेटले विजयी भएको थियो । फागुनमा हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले आयोजना गरेको स्म्यासमा १० टोली सहभागी भएका थिए ।









