काठमाडौं गोल्डेन्सले डीपीएल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा
वि.सं.२०७५ फागुन १० शुक्रवार १३:२३
shares

काठमाडौं । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन्। तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरे पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए।
यसअघि बिहीबार काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डीपीएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
काठमाडौंले त्यसकै विरोधमा खेल बहिस्कार गरेको हो। उसले शुक्रबारको क्वालिफायर मात्रै नभएर कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ। अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ।






























