डीपीएल फाइनलमा आज महेन्द्रनगर र अत्तरिया भिड्दै, कसले मार्ला बाजी?
वि.सं.२०७५ फागुन ११ शनिवार १२:५५
shares

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ। फाप्ला क्रिकेट मैदानमा अपरान्ह १२ः३० मा सुरु हुने फाइनल खेलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्नेछन्। पहिलो पटक डीपीएलको फाइनल पुगेका दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।
महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर पहिलो पटक फाइनलमा पुगेको हो। आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो।
काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ। अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको छ। महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ।
महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ। समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो। यस संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन्।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।


























