म्यानचेस्टर सिटीले चुम्यो ‘काराबाओ कप’को उपाधि

4.91K
shares

लन्डन। इङ्लिस लिग कप फुटबल प्रतियोगिताको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर सिटीले सोमबार बिहान वेम्बलीमा सम्पन्न फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। लिग कप फुटबल ‘काराबाओ कप’ को नामबाट पनि चर्चित छ।

निर्धारित र थप गरिएको समयको खेल गोलरहित बराबरीमा सकिए पछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउट बाट गरिएको थियो। म्यानचेस्टर सिटीले जारी सिजनमा जितेको यो पहिलो ठुलो उपाधि हो। जारी सिजनमा म्यानचेस्टर सिटीले चार वटा उपाधि जित्ने लक्ष्य लिएको छ।

पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीका लागि इकी गुन्डोगन, सर्जियो एग्वेरो, बेनार्डो सिल्भा र रहिम स्टर्लिङले गोल गरे। म्यानचेस्टर सिटीका लेरोय साने भने गोल गर्न असफल भए। चेल्सीका लागि सेसर एप्लिक्वेटा, इमर्सन र इडेन हाजार्डले मात्र गोल गर्न सके।

चेल्सीका जर्जिन्हो र डेभिड लुइजले गोल गर्न सकेनन्। जर्जिन्होको प्रहारलाई म्यानचेस्टर सिटीका गोलरक्षक एडर्सनले रोके भने डेभिड लुइजको प्रहार गोल पोष्टमा लागेको थियो। म्यानचेस्टर सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो।

सर्वाधिक लिग कपको उपाधि जित्ने टोलीको सुचीमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले हालसम्म सर्वाधिक आठपटक लिग कपको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेड, एस्टन भिल्ला र चेल्सीले भने हालसम्म पाँच-पाँच पटक उपाधि हात पारेका छन्।

अघिल्लो सिजनको लिग कपको उपाधि पनि म्यानचेस्टर सिटीले नै जितेको थियो। त्यतिबेला म्यानचेस्टर सिटीले फाइनलमा आर्सनललाई हराएको थियो। म्यानचेस्टर सिटीले दोस्रो पटक फाइनलमा पेनाल्टी सुटआउटमा जित हात पार्दै लिग कपको उपाधि चुमेको हो। यस अघि सन् २०१५/१६ सिजनको फाइनलमा म्यानचेस्टर सिटीले लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।

यसैगरी सन् २००९ पछि पहिलो पटक लिग कपको फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको हो। यसअघि सन् २००९ मा म्यानचेस्टर युनाइटेडले टोट्टनहामलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जित्दा पनि निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो।

जारी सिजनमा म्यानचेस्टर सिटीले निर्धारित समयको खेलमा चेल्सी विरुद्ध गोल गर्न नसकेको यो दोस्रो पटक हो। चेल्सीका कलुम हड्सन चेल्सीका लागि लिग कपको फाइनल खेल्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। म्यानचेस्टर सिटी विरुद्ध फाइनल खेल्दा उनको उमेर केवल १८ वर्ष एक सय नौ दिन पुगेको थियो। यसअघि सन् १९६५ मा जोन बोयलले १८ वर्ष ८० दिनमा लिग कपको फाइनल खेलेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083