स्वर्णपदक विजेता शाक्य र बस्नेत सम्मानित

२०७६ पुस ११ शुक्रवार
1K
shares
काठमाडौँ । महानगरपालिका वडा नं ३१ ले स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई सम्मान गरेको छ । कामपा वडा नं ३१ ले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एशियाली खेलकुद सागका पदक विजेतालाई सम्मान गरेको हो ।
शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासील गरेका थिए भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गरेका थिए । कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । वडाध्यक्ष नारायण भण्डारीले स्वस्थ समाज निर्माणका लागि महानगरले खेलकुदलाई प्राथमिकतामा राखेको बताए। महानगरको सम्मानबाट आफूहरुलाई खेलमा लाग्न थप हौसला मिलेको सम्मानित खेलाडीहरु शाक्य र बस्नेतले धारणा राखेका थिए ।

२०७६ पुस ११ शुक्रवार