महानगर कप भलिबल: ललितपुर र चन्द्रागिरि भिड्दै

8.37K
shares

काठमाडौँ । यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३-० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३-० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५-१३, २५=१३ र २५=१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५-१४, २५-१३ र २५-१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो । यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३–१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३-२५, २५-५, २५-१० र २५-१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिए । यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३–१९, २५–१७ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।

यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२-२५, २३-२५, २५-१९, २५-२१ र १५-१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२-२५, २५-२०, २५-१६ तथा २५-१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो । अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५-१८, २५-२० र २६-२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताए । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले  दुई लाख, उपविजेताले  एक लाख, तेस्रो हुनेले  ५० हजार र तथा चौथो हुनेले  २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई  १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।


divya collage
unigloble collage