बायर्न म्युनिखले बर्लिनलाई हरायो

5.94K
shares

म्युनिख, (एजेन्सी)

कोरोनाभाइरस महामारीको दौरान पुनः सञ्चानल भएको बुन्डेसलिगाअन्तर्गत खेलमा बायर्न म्युनिखले जित हात पारेको छ।
लिगमा शीर्ष स्थान ओगटेको बायर्नले युनियन बर्लिनलाई २–० ले हराएको हो। रोबर्ट लेवान्डोस्कीले टोलीलाई पेनाल्टी गोलमार्फत खेलमा अग्रता दिलाएका थिए। उनको यो सिजनमा बायर्नमा व्यक्तिगत ४०औं गोल थियो। बेन्जामिन पभार्डले जोसुवा किमिचको कर्नरमा गोल थपेपछि टोलीको जित सुनिश्चित भएको थियो।

योसँगै बायर्न म्युनिखले २६ खेलबाट ५८ अंक जोड्दै दोस्रो स्थानको बोरुसिया डर्टमन्डमाथि ४ अंकको अग्रता बनाएको छ। बायर्न कीर्तिमानी आठौं लिग उपाधि जित्न अग्रसर रहेको छ। यसअघि टोलीले लगातार सात सिजनमा लिग उपाधि जितेको हो। बोरुसिया डर्टमन्डले भने ८ खेल बाँकी रहेको अवस्थामा बायर्न म्युनिखसँग उपाधि छिन्ने बताएको छ।

बुन्डेसलिगा कोरोनाभाइरस महामारी दौरान पुनः शुरू हुने पहिलो प्रमुख युरोपेली लिग फुटबल हो। शनिबारदेखि बुन्डेसलिगा पुनः सञ्चालनमा आएको हो। बुन्डेसलिगाले केही सावधानी अपनाएर फुटबललाई सुचारु गरेको छ। दर्शकलाई रंगशालामा प्रवेश गराएको छैन। खेल दौरान खाली रंगशालामा दर्शकको अडियो बजाइएको थियो।

बेन्चमा बसेका खेलाडी र प्रशिक्षकले सामाजिक दँरीको पालना गरेका थिए। केही खेलाडी त खाली स्टेडियममा बसेका थिए। यस्तै गोलमा खेलाडीहरूले अँगालो मारेर खुसीयाली मनाउने परम्परागत शैलीलाई छाडेका थिए। यद्यपि पभार्डले गोलगरेपछि डेभिड अलाबालाई अँगालो हालेका थिए। युनियन बर्लिनका प्रशिक्षक उर्स फिस्चरले खेलमा सहभागिता जनाउन सकेनन्। उनका ससुराको निधनमा उनले क्वारेन्टाइनको नियम तोडेका थिए।

यसअघि थोमास मुलरले गरेको गोल भिडियो सहायक रेफ्रीद्वारा अफसाइड घोषित गरिएको थियो। ४०औं मिनेटमा बलिर्नका नेभेन सुबोटिचले लिओन गोरेटज्कालाई डिबक्समा फाउल गरेपछि बायर्नले पेनाल्टी प्राप्त गरेको थियो। लेवान्डोस्कीले पेनाल्टी सहजै गोलमा परिणत गरेपछि बायर्न १–० को अग्रतामा रहेको थियो। ८०औं मिनेटमा कर्नरबाट आएको बललाई हेड गर्दै पभार्डले गोल गरेका थिए।

बायर्नका कप्तान तथा गोलकिपर म्यान्युल निउएरले भने– ‘हामी धेरै खुसी छौं जितबाट, हामीले ३ अंक बटुलेका छांै। दर्शकबिनाको खेल अन्तिम सिठी नबजुन्जेल धेरै लामो भएको जस्तो लाग्यो।’


divya collage
unigloble collage