एक्काइस कम्पनीको रु तीन अर्बको शेयर बिक्रीको तयारी

6.15K
shares

काठमाडौँ । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ। नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन्। आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ।

आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन्। ती मध्ये जोशी हाइड्रोपावरले साधारण शेयर बिक्रीको अनुमति पाइसकेको छ। बोर्डमा आवेदन दिएका जलविद्युत्सँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ।

सयपत्री हाइड्रोपावरले रु तीन करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ। शुभम् पावरले रु पाँच करोड ८० लाख, रुरु जलविद्युत् परियोजनाले रु चार करोड सात लाख ७० हजार ५०० र माउन्टेन हाइड्रोले रु १८ करोड १६ लाख ११ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ। त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख तथा ग्रीनलाइफ हाइइड्रोपावरले रु १८ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ।

मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ। सो कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६००, युनिभर्सल पावर कम्पनीले रु ९६ करोड ६१ लाख ६१ हजार, शिवश्री हाइड्रोपावरले रु १४ करोड ७६ लाख ४० लाख र घलेम्दी हाइड्रोपावरले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ।

बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु दुई करोड, लघिङ बुद्ध पावरले रु नौ करोड ७८ लाख र युनियन हाइडेल कम्पनीले रु पाँच करोड ५० लाख बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ। साधारण शेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ। सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ। रासस