चालू आवमै सुनकोशी मरिन डाइभर्सनको काम शुरु
वि.सं.२०७५ मंसिर ४ मंगलवार १३:५२
shares

काठमाडौँ । लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी चार महीनाभित्र पूरा हुने भएको छ । तराई मधेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाएने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।
सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने छ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकतासमेत निर्माण गर्छ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको छ”, मन्त्री पुनले भने । मन्त्री पुनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । चालू आवभित्रै निर्माणको काम अगाडि बढाउने गरी तयारी गरिएको छ ।
मन्त्री पुन, मन्त्रालयका उच्च अधिकारी र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेको थियो। आयोजनालाई बहुउद्देश्यीय बनाइने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना तयारी अवस्थामा रहेकाले यो परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री पुनको भनाइ छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरकफरक लागत रहनेछ । विद्युत्गृह, सुरुङ निर्माण लगायतमा रु ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ रु ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।
आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसका साथै उक्त आयोजनाबाट ४२ दशकलब ५ मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ । सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।






























