विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

5.01K
shares

रोल्पा । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो । गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे ।

मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे । इलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश गर्यो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि हाल केटालाई सात हप्ताको तारेख रहने गरी र केटीसँग भेटघाट गर्न नपाउने सर्तमा मिलापत्र भयो ।

जानकीबाट जन्मने बच्चाको रेखदेख र भरणपोषण समेत शक्तिरामले गर्ने गरी दुवै पक्षको सहमतिमा हाल विवाह गर्न नपाउने गरी छोडिएको थियो । अहिले जानकी गर्भवती अवस्थामा बुबा आमासँग बस्न बाध्य छिन् भने शक्तिराम साप्ताहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका छन् । कानूनको अनभिज्ञताले बालविवाह गर्ने विष्ट र रोका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा यसरी विवाह गर्ने जोडीको सङ्ख्या ठूलो छ ।

जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि ठूलो सङ्ख्यामा बालविवाह भइरहेको बताइन्छ । कानूनअनुसार २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई गैरकानूनी मानिए पनि उजुरीको सङ्ख्या भने निकै कम देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३÷०७४ मा बालविवाहका दुईवटा उजुरी परेको थियो । आव ०७४-०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रूप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ । बालविवाह गर्नु गैरकानूनी हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुनसक्छ, बालविवाहका उजुरी परे पनि गाउँमै मिलापत्रमा टुङ्ग्याइने चलनले पनि प्रहरीसमक्ष यस्ता उजुरी निकै कम आइपुग्छन्”, महिला अधिकारकर्मी श्रीकुमारी रोकाले भने ।

आमा समूह र बाल क्लबले पनि यस्ता विवाह न्यूनीकरणमा चासो देखाउन थालेका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइले नियमितरूपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले पनि जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षा सञ्चालन गरिरहेको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083