भूमिहीन नागरिकलाई अब आवासको व्यवस्था

7.68K
shares

काठमाडौं। भूमिहीन नागरिकले पनि अब आवास पाउने भएका छन्। सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई पनि आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहीनले पनि जग्गा र आवास दुवै पाउने भएका हुन्। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहीन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिएका हुन्। कार्यविधि बनेसँगै भूमिहीनले आवास नपाउने अवस्था अव नरहेको मन्त्री राईको दावी छ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले जनता आवास कार्यक्रमले अव गति लिने बताए। मन्त्री राईले जनता आवास कार्यक्रममा अनियमितता गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए। बैठकमा समितिका सदस्यहरुले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाईए दोषीमाथि कडा कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे।

बैठकमा समितिका सदस्यहरुले भूमिहिन नागरिकहरुलाई उच्च प्राथमिकता दिएर जनता आवास काईक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले भूहिहिनलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए। उनले तराईमा दलित जातिहरु जमिनको अभावमा जनता आवास कार्यक्रमबाट बञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए।

समितिका अर्का सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यापक छलफल गरेर अघि बढाउन सरकारसँग आग्रह गरे। उनले सहरी बस्ती विकास कार्यक्रमलाई अघि बढाउन ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। बैठकमा समितिका सदस्यहरुले सहरी विकास योजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।