बाँकेमा खम्बामा गाडिएको २१ वर्षसम्म पनि बलेन बिजुली

4.99K
shares

बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन ।

विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाड्नुभएको थियो । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । ‘पोल गाडेको २१ वर्ष भयो, अहिलेसम्म बत्ती बलेको छैन’, नरैनापुरका मोहम्मद खानले भने, ‘अहिलेसम्म पोल हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौँ ।’

‘निर्वाचनको माहोल आफ्नो पक्षमा पार्नका लागि भण्डारीले ‘सोर्सफोर्स’ लगाएर नरैनापुरमा रातारात पोल गाड्नुभयो’, नरैनापुरका मुस्ताक अलि भन्छन्, ‘विद्युत् कार्यालयको कार्ययोजनाअनुरुप यहाँ पोल गाडेको भए सायद अहिलेसम्म बलिसक्थ्यो । निर्वाचन जित्न पोल गाडेको भएर अहिलेसम्म बत्ती बलेन ।’ यो सँगसँगै विद्युतीकरण शुरु भएका देशका अन्य ठाउँमा बिजुली बलिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले विद्युत् कार्यालयले सिधै हेर्नुभन्दा पनि सामुदायिक विद्युतीकरणअन्तर्गत राखिएकाले ढिलाइ भएको बताए । उनले भने, ‘कार्ययोजनाअनुसार पोल गाडिएको भए अहिलेसम्म बत्ती बलिसक्थ्यो । नेताको सोर्सफोर्समा पोल गाडियो, त्यसकारण पनि ढिलाइ भएको हो ।’ गरीब जनताको बसोबास हुनु र सामुदायिक विद्युतीकरणमा जनताको पनि ‘योगदान’ देखिनुपर्ने तथा ठेकेदारको बदमासीले नरैनापुरमा बत्ती बल्न सकेको छैन । नरैनापुरको विद्युत् बाल्नका लागि जिल्लाको विद्युत् कार्यालयले यो वर्ष ४० लाख विनियोजन गरेको यादवले जानकारी दिए ।

क्षेत्रीय विद्युत् कार्यालयका प्रमुख मनोजकुमार सिंहले नरैनापुरमा बत्ती बाल्नका लागि २२ करोड छुट्याएको र बोलपत्र प्रक्रियामा रहेको जानकारी दिए । क्षेत्रीय प्रमुख सिंहले तीन महीनामा सव स्टेशन बन्ने र चैतसम्ममा ३३ केभी लाइन तान्ने काम भइरहेको बताए । उनले डेढ वर्षभित्र नरैनापुरमा बत्ती बल्ने आश्वासन दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083