गैरसरकारी संस्थाहरु विकास निर्माणमा सरकारको परिपूरक हुन् : सभामुख ‘महरा’
वि.सं.२०७५ मंसिर १४ शुक्रवार १५:५०
shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरूले विकास निर्माणको काममा सरकारको परिपूरकको रूपमा योगदान पुर्याएको बताए।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्ने क्रममा सभामुख महराले यस्तो बताएका हुन्। सभामुख महराले गैरसरकारी संस्था र नागरिक संघ संगठनहरूले गर्ने निगरानीले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘गैरसरकारी संस्थाहरूले देशको विकास निर्माणको काममा सरकारको परिपूरकको रूपमा योगदान पुर्याएका छन्,’ उनले भने, ‘नागरिक समाज तथा नागरिक संगठनहरूले शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रूपमा आफ्नो भूमिका खेलिरहेका छन्।’
नागरिक संगठनहरूले राज्य र जनताबीच पुलको भूमिका खेल्न सक्ने बताउँदै सभामुख महराले भने, ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन एवं गैससहरूले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु।’ अवको विकास राष्ट्रिय स्वाधिनता, स्वाभिमान र आत्मनिर्भरतामा आधारित हुनुपर्नेमा जोड दिए। सभामुख महराले भने, ‘स्थानीय स्रोत साधन, सीप र श्रमको समुचित परिचालनमा गैरसरकारी संस्थाहरूले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेछ।’
गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदा हुँदै ती संस्थाहरूले गर्ने कामको आर्थिक पारदर्शिता र दीगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको प्रसंग उल्लेख गर्नु हुँदै सभामुख महराले यस्ता विषयमा सरकार र स्वयं गैरसरकारी संस्थाहरूले गम्भीर भएर सोच्न जरुरी रहेको बताए। दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।





























