निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग
वि.सं.२०७५ मंसिर २३ आइतवार १६:२८
shares

काठमाडौं । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापको राजीनामा माग गरेको छ। आइतबार रिपोर्टर्स क्लबमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।
कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन्। सांसद खतिवडाले भनिन्, ‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ।
निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उनको दाबी छ। खतिवडाले भनिन्, ‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखि नेपाली बन्छन् ? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन् ?
महिला हिँसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्, ‘असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो’ राज्यले महिलाहरुकोबारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरुले अधिकार पाएका छैनन्, कानून फितलो छ, बलत्कार, दण्डहिनता चरम पराकाष्ठा छ, अर्कोतर्फ मूल्य बृद्धि, कालोबजारी, भ्रष्टाचार मौलाएको छ, तीन तहको स्थानीय सरकार भएरपनि जनताले विधिको शासन र कानूनी राजको महसुस गर्न पाएनन्, देशको विकास र समृद्धि भाषणमा सीमित छ।




























