चिडियाखानाका जन्तुको प्रजनन अधिकार हनन
वि.सं.२०७५ मंसिर २४ सोमवार १०:४२
shares

काठमाडौं ।थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो । नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ (गोही) जोडीविहीन बनेको साढे ५ दशक नाघिसकेको छ ।
छिमेकी मुलुक चीनले २०१९ मा उपहारस्वरुप प्रदान गरेको सो गोही त्यही बेलादेखि एक्लै छ । जलगैंडा र चाइनिज एलिगेटर प्रतिनिधि उदाहरण मात्रै हुन्, जोडीविनाका जीवजन्तु चिडियाखानामा दर्जनौं छन् । जीवजन्तुले चाहेको आहरा खाने÷खुवाउने अनि नियमित औषधि उपचारको व्यवस्था भए पनि आफ्ना दौंतरी र जोडी नहुँदा चिडियाखाना जीवजन्तु खुलेर रम्न पाएका छैनन् । जोडी बाँध्ने पहल अघि नबढाइँदा धेरै जन्तुको प्रजनन अधिकार समेत हनन भएको छ ।
मलेसियाबाट २०५७ भदौ अन्तिम साता ल्याइएको एक जोडी सिमाङ्ग ९वन मान्छे० ले चिडियाखानामा दुईपटक वच्चा जन्माउँदा चर्चा निकै बटुलेको थियो । तर ८ वर्षअघि रोग संक्रमणले पोथी मरेपछि हाल वनमान्छेका बाउ÷छोरा मात्रै छन् । चिडियाखानाले संख्या थप्ने पहल अघि नबढाउँदा त्यसयता न बाउले नयाँ जोडी पाएको छ न त छोराले नै । जोडीविहीन जन्तुलाई जोडी बाँध्ने र दौंतरी थप्ने रहर हुँदाहुँदै पनि कानुनी र अन्य व्यावहारिक कठिनाइले सम्भव नभएको चिडियाखानाका आयोजना व्यवस्थापक डा.चिरञ्जीवीप्रसाद पोखरेल बताउँछन् ।





























