कूटनीतिमा ‘लुटनीति’ : किन विवादित बन्छन् राजदूत ?
वि.सं.२०७५ मंसिर २६ बुधवार १३:४३
shares

काठमाडौं । केही प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भइरहेको र केहीलाई मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको चर्चा चलिरहँदा हाल विभिन्न मुलुकमा कार्यरत राजदूतका विवादित गतिविधि भने बाहिरिन थालेका छन् । भवन खरिदमा अनियमितता र सहयोगीलार्ई महँगो तलब सुविधा दिएकोदेखि कतिपय राजदूतलाई मानव तस्करी गरेको गम्भीर आरोपसमेत लागेको छ । आरोपबारे बुझ्न परराष्ट्र मन्त्रालयले केही राजदूतलाई झिकाएको छ भने केही राजदूतविरुद्धका उजुरी अध्ययन गरिरहेको छ ।
कतिपय राजदूतमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन भने कतिपयले पदीय दुरुपयोग गरेको पुष्टि नै भइसकेको छ । विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिले देशकै प्रतिनिधित्व गर्छन् । त्यहाँ उपस्थित कूटनीतिज्ञको गतिविधि सिंगो राष्ट्रको गतिविधि हो । यसैले उसले निर्वाह गर्ने भूमिकाले मुलुकको प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । तर, राज्यले विश्वास गरेर पठाएका राजदूत स्वयं पथभ्रष्ट बन्दै कमाउ धन्दामा लागेपछि मुलुककै इज्जतमाथि प्रहार भएको विश्लेषकहरु बताउँछन् । विवादमा तानिएका केही राजदूत र तिनका विवादित गतिविधि यस्ता छन् ।
लक्की शेर्पा, अस्ट्रेलिया
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई संरकारले स्पष्टीकरणका लागि काठमाडौं झिकाएको छ । उनीमाथि मानव तस्करी गरेको आरोप लागेको छ । वाङ्छु शेर्पा नाम गरेका एक व्यक्तिले आफूसँग राजदूत लक्की शेर्पाले ३३ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् । वाङ्छु राजदूतको सवारी चालकको रुपमा अस्ट्रेलिया पुगेका हुन् । राजदूतले एक जना सवारी चालक र एक जना भान्से नेपालबाट लैजान पाउने व्यवस्था छ । सोही व्यवस्थाको दुरुपयोग गर्दै राजदूत शेर्पाले वाङ्छुसँग ३३ लाख रुपैयाँ लिएका हुन् । राजदूत शेर्पाविरुद्ध अरु थुप्रै आरोप पनि छन् । शेर्पा तत्कालीन नेकपा माओवादी केन्द्रको कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएकी हुन् ।
प्रतिभा राणा, जापान
कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु प्रतिभा राणा जापानका लागि नेपाली राजदूत हुन् । उनले महँगो तलब सुविधा दिनेगरी सहयोगी लगेपछि विवाद आएको छ । साथै, दूतावासको खर्च अनियमिततामा उनी तानिएकी छन् । राणाले श्रीवत्स राणालाई मासिक ३ हजार ३ सय अमेरिकी डलर दिने गरी सहयोगीको रुपमा जापान लगेकी छन् । राणाले सहयोगीको रुपमा श्रीवत्सलाई लैजाँदा राष्ट्रले वार्षिक करिब ४५ लाख रुपैयाँ थप व्ययभार व्यहोर्नुपरेको छ ।
सो विषयमा महालेखा परीक्षकको कार्यालयले आपत्ति जनाउँदै सरकारी कोषको दुरुपयोग भएको जनाएको थियो । महालेखाले आपत्ति जनाए पनि तत्कालीन प्रधानमन्त्री देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदीय दुरुपयोग गर्दै श्रीवत्सलाई सहयोगीको रुपमा लैजान पाउने व्यवस्था मिलाएका थिए । तत्कालीन अर्थमन्त्री कार्कीले राजदूत राणाकी अर्की छोरी बिहे गरेका छन् । राणालाई देउवाले नै जापानका लागि राजदूत नियुक्त गरेका हुन् ।
अर्जुन कार्की, अमेरिका
राजदूत अर्जुन कार्की वासिङ्टनमा नयाँ दूतावास भवन खरिद गरेपछि विवादमा तानिएका हुन् । भवन खरिदमा ७६ लाख अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) खर्च भएको भनिएको छ । तर, यो रकम खर्च पारदर्शी नभएको भन्दै दूतावासमा कार्यरत कर्मचारीले कागजातमा हस्ताक्षर गर्न मानेनन् । जसबाट भवन खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत दूतावास भवन खरिद प्रक्रियामा कुनै चलखेल नभएको दाबी गरे पनि ठूलो रकम हिनामिना भएको दूतावासका कर्मचारीको आरोप छ ।
भरतबहादुर रायमाझी, स्पेन

स्पेनमा नेपाली दूतावास स्थापना गर्दा चरम आर्थिक अनियमितता भएको आरोप त्यहाँस्थित राजदूत भरतबहादुर रायमाझीलाई लागेको छ । स्पेनको मड्रिडमा दूतावास स्थापना गर्दा अनियमितता गरेको भन्दै परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी परेको छ । उजुरीविरुद्ध परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् । राजदूत रायमाझीमाथि नक्कली बिल बनाई रकम बुझेको आरोप छ । स्पेनमा दूतावास भवन भाडामा लिनुअघि होटलमा बस्दाको बिलसमेत नक्कली पेस गरेको आरोप उनीमाथि लागेको छ ।
किन विवादित बन्छन् राजदूत ?
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित राजदूतको सुनुवाइ हुने भए पनि सिफारिस प्रक्रिया नै गलत हुँदा समस्या भएको कूटनीतिज्ञहरु बताउँछन् । राजनीतिक दलका नेतालाई मोटो रकम बुझाएर राजनीतिक नियुक्ति पाएकाहरुबाट राम्रो कामको अपेक्षा गर्नै नसकिने उनीहरुको बुझाइ छ । पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ भन्छन्, ‘मोटो रकम बुझाएर राजदूत भएकाहरु त्यो रकम असुल्न जसरी भए पनि कमाउ धन्दामा लाग्ने गरेको देखिन्छ, जसले गर्दा मानव तस्करीसम्मका काम भइरहेका छन् ।
राजदूतका लागि योग्य व्यक्ति छनोट गर्न नसक्दा यस्ता विवाद आउने पूर्व राजदूत जयराज आचार्य बताउँछन् । ‘राजदूतको काम विदेशमा रहेका आफ्ना मुलुकका नागरिकलाई अभिभावकत्व दिने हो । आफ्नो देशलाई कसरी फाइदा हुन्छ, त्यसबारेमा सोचेर आफ्ना गतिविधि अघि बढाउने हो । कुन स्तरको राजदूत पठाएको हो भन्ने कुरा सम्बद्ध राष्ट्रले पनि ख्याल गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यो विषय बुझेको मान्छे नपठाएर राजनीतिक नियुक्त गरी आफ्ना मान्छे पठाएका कारण उनीहरुले राजदूतको गरिमा कायम राख्न जानेनन् र भष्ट्र भए ।




























