संविधान कार्यान्वयनमा जिम्मेवार हुन कांग्रेसलाई पूर्व राष्ट्रपति यादवको सुझाव

5.12K
shares

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान कार्यान्वयन गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन्। पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व काँग्रेसकै भएको बताएका छन्। उनले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास व्यक्त गरे।

पूर्व राष्ट्रपति यादवले काँग्रेस नेतृत्वलाई गुटउपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् सुझाव दिए। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली काँग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे।

उनले सो पुस्तक विमोचन कार्यक्रम तराई, मधेशमा नगरेर काँग्रेसले त्यहाँको कार्यकतालाई पनि बिर्सदै गएको गुनासो गरे। पूर्व राष्ट्रपति यादवले काँग्रेस जनतामा नगएको उल्लेख गर्दै आफूलाई असाध्यै चिन्ता लाग्ने गरेको बताए। उनले काँग्रेस महासमिति बैठक तराई मधेशमा नगरेर किन काठमाडौंमा आयोजना गरिएको भनि काँग्रेस नेतृत्वलाई प्रश्न पनि गरे।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ नेता पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराए। कार्यक्रममा बोल्दै पुस्तकका लेखक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताए। उनले पुस्तकमा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083