दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने
वि.सं.२०७५ पुस १ आइतवार ११:५५
shares

बेत्रावती। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ। दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा मृत्यु भएकाले शव ल्याउन बाँकी छ। दुर्घटनामा शिखरबेँसीका १८ वर्षीय रितेश पण्डितको आजै अन्तिम संस्कार गरे पनि बाँकी १९ जनाको बौद्धधर्म परम्परानुसार आइतबार सामूहिक अन्तिम संस्कार गर्न लागिएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
दुर्घटनामा एकै परिवारका पाँच जना परेका सुने लामा उनको भाइ लक्ष्मणको मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएर काठमाडौँमा उपचारारत् छन्। यसैगरी, टक्ले तामाङ उनको बुहारी बिबिमायाको दुर्घटनामा परी मृत्यु भएको छ भने बिबिमायाको नौ महिनाकी छोरी घाइते भएकाले काठमाडौंमा उपचारारत् छिन्।
दुप्चेश्वर गाँउपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु भन्ने स्थानतर्फ गइरहेको बा३ख ३९१३ नंं। को मिनीट्रक शुक्रबार घ्याङडाँडा दुर्घटनामा भएको थियो। सिम्टाङस्थित आफन्त कहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी साँझ ५ बजे घ्याङडाँडाको मोहडामा उकालो नचढेपछि चालकले गाडी पछि हटाएर अघि बढाउने क्रममा दुर्घटना भएको घाइते कर्मा तामाङले बताए।
उपचारमा आर्थिक अभाव
मिनीट्रक दुर्घटनापश्चात घाइतेको उपचारमा आर्थिक अभाव भएको छ। मिनीट्रकमा सवार यात्रुको बीमा नहुने र यातायात समितिमा समेत आवद्ध नहुँदा घाइतेलाई उपचारमा आर्थिक अभाव भएकाले नेपाल सरकारमार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउन उनीहरुले माग गरेका छन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले आज गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँ र प्रदेश नं.३ का आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पत्र लेख्दै घाइते भएकाहरु भौगोलिक विकट स्थानका गरीब समुदायका भएकाले उनीहरुका लागि निःशुल्क उपचारको व्यबस्था मिलाउन आग्रह गरेका छन्। रासस
































