वडा कार्यालयको मिलेमतोको सिफारिसमा सिराहाको दलित बस्ती बिक्री
वि.सं.२०७५ पुस ५ बिहीवार १३:४२
shares

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ फूलबरियाको महराटोल । यही टोलमा तीन पुस्तादेखि बस्दै आएका दलितहरुको जमिन वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बिक्री भएको छ ।
जग्गा धनीलाई पैसा तिरेर करिव ९० वर्षदेखि यो बस्तीमा दलितहरु बस्दै आएका थिए । तर, वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले दलित बस्तिको यो जमिनमा घर नभएको भन्ने सिफारिस दिएका आधारमा व्यवसायीले जग्गा खरिद गरेका हुन् ।
बस्ति भएको जमिन विक्रि भएको खवर पाएपछि वस्तीका दलितहरुको भोक प्यास हराएको छ । उनीहरु कहिले वडा कार्यलय, कहिले नगरपालिकाको कार्यालय, कहिले मालपोत त कहिले अधिकारकर्मीहरुकोमा धाइरहेका छन् ।
वस्ने थात थोलो गुम्ने त्रासमा छन् उनीहरु । जमिन विक्रि भएको खवरपछि यहाँका २८ घर परिवार दलितहरु छटपटीमा दिनरात कटाइरहेका छन् । तीन पुस्तादेखि आफू वस्दै आएको जमिन अरुले पास गरेको खवरले ६५ वर्षिय घुरन महरा चिन्तित छन् । ‘जग्गा धनीलाई बुवाले जग्गाको दाम दिएपनि आजभोली भन्दाभन्दै पास गरीदिएनन् । अहिले उनका नातीहरुले हामीलाई सुचना नै नगरी बस्ती भएको जमिन विक्रि गरेका छन्, जमिन विक्रिको खवरपछि हाम्रो भोकप्यास नै हराएको छ’महराले चिन्ता व्यक्त गरे ।
दलित वस्तिकै २८ वर्षिय चन्द्रदिप महराका विसुनिया महराले आफ्ना हजुरबुवाले जग्गाधनी कल्याणपुर जब्दी ८ का हजारी साहु भन्ने रामचन्द्र साहलाई रकम बुझाएको बताए ।
‘साहलाई जमिनको मूल्य तिरेको भएपनि उहाँले तिमीहरुलाई बस्न दिएकै छु, कुनै दिन पास गरिदिउँला भन्दै टार्दाटार्दै उनको मृत्यु भयो, आज उनका नातीहरुले हामीलाई पत्तै नदिई जमिन बेचेछन्,’ विसुनियाले थपे, ‘हामी गरिव दलितलाई उठिवास लगाउने नियतले जमिन बेचेको हो, यसमा वडा अध्यक्षको पनि बद्मासी छ ।’
जमिन विक्रि भएपछि घुरन र विसुनियाँमात्र हैन, महरा बस्तिका २८ घर परिवारको बिचल्ली हुने भएको छ । दलित बस्तिमा वस्नेहरुको बस्ने घरबाहेक अरु जग्गा जमिन छैन । महरा वस्तीका कसैलाई थाहै नदिई उनका नातीहरु श्रवण कुमार साह, दिप नारायण साह, सत्य नारायण साह, रामेश्वर साह लगायतले गत मंसिर ९ गते धनुषा सवैला नगरपालिका १२ रघुनाथपुरका जग्गा व्यवसायी सुरेश कुमार महतोलाई दलित वस्ति रहेको ६ कठ्ठा जमिन विक्रि गरेका हुन् ।
यता वडा अध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित वस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको प्रतिकृया दिए । उनले आफूबाट गल्ती भएको भन्दै अब बस्तीको जमिन फर्काउन आफूले सक्ने सवै सहयोग गर्न तयार रहेको सुनाए । दलित वस्तीमा विद्युत, पानी र बाटो भएपनि वडा कार्यालयले बाटो नभएको र घर नभएको भनेर सिफारिस दिएको छ ।
स्थानीय वासिन्दाहरुले वडा अध्यक्ष यादवले जग्गा व्यवसायीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन् ।






























