मौलिकता जोगिने गरी पुनःनिर्माण गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

5.16K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनःनिर्माणका क्रममा काठमाडौँ लगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिएका छन् । पुनःनिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उनले मौलिक पहिचान जोगिने गरी पुनःनिर्माण गर्न सुझाव दिएका हुन्। उनले स्थानीय तहमा पुनःनिर्माणको जिम्मेवारी आएसँगै निपूणताको परीक्षण हुने बताए।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पुनःनिर्माणमा स्थानीय तहको व्यापक परिचालनको औपचारिक थालनी भएको धारणा राख्दै संविधान तथा ऐनमा परिभाषित जिम्मेवारीअनुसार आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय पुनःनिर्माणको संस्थागत स्मरण, ज्ञान तथा अनुभवलाई स्थानीय तहमा हस्तान्तरण गर्न पुनःनिर्माणमा स्थानीय तहलाई अझ व्यापकरुपमा सहभागी गराउँदै लगिएको जानकारी गराए ।

उहाँले अनुदानको किस्ता वितरण, पहिलो किस्ता लिएर घर बनाउन नसकेका लाभग्राहीको पहिचान गर्न, उनीहरुलाई घर निर्माणमा प्रोत्साहन गर्न, गुनासो सम्बोधन गर्न र झुठा विवरण दिएर अनुदान लिएकाबाट रकम फिर्ता गराउनेलगायतका कार्यमा स्थानीय तहका पदाधिकारीको महत्वपूर्ण भूमिका हुने बताए । बैठकले जिल्लास्तरमा पुनःनिर्माण कार्यमा समन्वय एवं सहजीकरण गर्न समन्वय समिति प्रमुखको अध्यक्षतामा जिल्ला सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

समितिको बैठक प्रत्येक महीना बसी पुनःनिर्माणसम्बन्धी गतिविधिको समीक्षा गर्ने र आवश्यक सहजीकरण गर्ने, स्थानीयस्तरको पुनःनिर्माण कार्यको समन्वय एवं सहजीकरण गर्न काठमाडौँ महानगरपालिका र सबै नगरपालिकामा स्थानीय पुनःनिर्माण समन्वय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ। बैठकमा काठमाडौँ जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083