स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

5.41K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् । सडक विभागसँग सहकार्य गरी मासिनको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उहाँले जानाकारी दिनुभयो । उहाँका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको हुनेछ ।

मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिट्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ । नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ । कामपाले चालू आव २०७५\७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । (रासस)


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083