प्रदेश – २ : अतिथि सत्कार र भोजभतेरमै सकियो ४ करोड, योगीको स्वागतमा मात्रै ७३ लाख

6.03K
shares

काठमाडौं । प्रदेश-२ सरकारले अतिथि सत्कार र भोजभतेरमा मात्रै ४ करोडभन्दा बढी खर्च गरेको छ ।
मंसिर २६ गते भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत सत्कारमा मात्रै सरकारले ७३ लाखभन्दा बढी खर्च गरेको देखिएको छ । योगीको सत्कारमा मुख्यमन्त्री राउतले भण्डारा (भोज) को आयोजनासमेत गरेका थिए ।

स्वागत सत्कार र भण्डाराको आयोजनामा सरकारले ७३ लाख ८ हजार १ सय ४५ रुपैयाँ खर्चेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त खर्च विवरण अनुसार योगीको स्वागतका लागि बनाइएका गेट, टेन्ट निर्माण, फूलमाला, कुर्सी तथा साउन्ड सिस्टमको व्यवस्थापनमा ३८ लाख ८४ हजार ७ सय ८९ रुपैयाँ खर्चिएको छ ।

त्यसैगरी, भण्डाराका निम्ति २६ लाख ५१ हजार ३ सय, अतिथिलाई उपहार दिन ५७ हजार ५ सय र कार्ड छपाइ, फ्लेक्स बोर्ड, प्रचारप्रसार लगायत खर्चमा ७ लाख १४ हजार ५ सय ५६ गरी जम्मा ७३ लाखभन्दा बढी खर्चिएको छ । यता, विवाहपञ्चमी महोत्सवकै लागि जानकी मन्दिरका तर्फबाट अढाई करोडभन्दा बढी खर्च भएको मन्दिर व्यवस्थापक पक्षले दाबी गरेको छ । यसभन्दा पूर्व वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएका बेला प्रदेश सरकारले स्वागत सत्कारको नाममा ३ करोड १२ लाख रुपैयाँ खर्चेको थियो ।

मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त खर्च विवरणअनुसार सो बेला प्रदेश सरकारमातहत रहेका ६ वटा मन्त्रालयमार्फत विभिन्न शीर्षकमा सो रकम खर्चिएको थियो । भारतीय प्रधानमन्त्रीको तीन घण्टाको जनकपुर बसाइका लागि प्रदेश सरकार र उपमहानगरपालिकाबाट विभिन्न शीर्षकमा ५ करोडजति खर्चिएको दाबी गरिएको थियो ।

आर्थिक मामिलामन्त्री विजय यादवले भने खर्च अपारदर्शी रुपमा नदेखिएको बताएका छन् । यद्यपि प्रदेश सरकारले मोदी भ्रमणको खर्च हालसम्म सदनमा पारदर्शी गर्न सकेको छैन । त्यसैगरी भदौ २ गते प्रधानमन्त्री केपी ओलीले प्रदेशसभालाई विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीको स्वागत सम्मानमा प्रदेशसभाले आयोजना गरेको दिवाभोजमा ६ लाख ४७ हजार ७ सय ६० रुपैयाँ खर्च भएको जनाएको छ ।

त्यसैगरी, तिहार र छठको अवसरमा कात्तिक १८ गते प्रदेश सरकारको सचिवालय मधेस भवनमा मुख्यमन्त्री राउतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ११ लाख ८२ हजार ५ सय रुपैयाँ खर्च भएको छ । बढी खर्चको विषयलाई लिएर प्रतिपक्ष दलका नेताहरुले प्रदेश सरकारबाट जनतालाई ठग्ने काम भइरहेको आरोप लगाएका छन् । उनीहरुले सरकारबाट जनताले गर्नुपर्ने परिवर्तनको अनुभूति अहिलेसम्म केही हुन नसकेको भन्दै तामझाम र देखावटीमा मात्र बजेट सखाप पार्ने काम भइरहेको बताए ।

नेकपा सांसद रामचन्द्र मण्डलले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने नारा दिएर सत्तामा पुगेको सरकार अहिले सोही जनतालाई मूर्ख बनाउने काममा लागेको बताए । त्यसैगरी प्रदेशसभामा प्रतिपक्षी दल कांग्रेस सांसद शिवचन्द्र चौधरीले सरकारले जनताले प्रत्यक्ष अनुभूति गर्ने काम अहिलेसम्म नगरेको आरोप लगाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083