मन्त्रिपरिषद् कार्यालयबाटै भ्रष्टको नियुक्ति : उद्योग मन्त्री यादव बेखबर

4.26K
shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई थाहै नदिई उनको मन्त्रालय अन्तर्गतको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड बालाजुको अध्यक्ष नियुक्ति गरेको छ । उद्योग मन्त्रालयले प्रस्ताव नै नलगी २०७५ पुस ६ को मन्त्रिपरिषद बैठकले नन्दकिशोर बस्नेतलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरी नियुक्ति दिनू भनेर निर्णय गरेको छ ।

विगतमा संस्थान निर्देशन बोर्डले खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्दैआएकोमा त्यसलाई कोमामा पु¥याइयो । बोर्डबाट सबै अधिकार झिकेपछि अहिले पनि सामान्य सूचना निकालेर प्रतिस्पर्धा गराई सरकारी संस्थानहरूमा नियुक्तिको प्रक्रिया पूरा गरिन्छ । तर औद्योगिक क्षेत्र ब्यवस्थापन लि.को अध्यक्ष नियुक्तिमा यी कुनै प्रक्रिया त पूरा गरिएन नै, तालुक उद्योेग मन्त्रालयलाई समेत थाहा नदिई अपारदर्शीरुपमा गरिएको छ ।

मन्त्रिपरिषद बैठकबाट योग्यतासम्बन्धी कार्यविधि नै संशोधन गरी उनलाई ठाडो नियुक्ति गर्ने निर्णय गरेको एकसातापछि मात्र मन्त्री मातृका यादवले बस्नेतलाई अध्यक्ष बनाउने निर्णय भएको थाहा पाएका थिए । त्यो पनि बस्नेतले नै नियुक्तिको निर्णयको कपी लिएर मन्त्रालयमा बोधार्थ बुझाउन गएपछि मात्र उनले थाहा पाएका हुन् ।

बस्नेत मन्त्रिपरिषदले कार्यविधि संशोधन गरी नियुक्ति दिने पत्र बोकेर अहिले दैनिक मन्त्रालयमा जाने गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा भएको नियुक्तिका बारेमा थाहा नै नभएकाले कार्यविधि पनि संशोधन नगर्ने र नियुक्ति पनि नदिने अडान राख्दैआएका छन् । मन्त्री यादवले मेरो मन्त्रालय अन्तर्गतको निकायमा मलाई नसोधी कसरी नियुक्ति गरियो ? मलाई थाहा छैन भन्दै आक्रोस प्रकट गरिरहेका छन् ।

सचिव यामकुमारी खतिवडाकोमा पुगेका बस्नेतलाई उनले पनि मन्त्रीसँगै कुरा मिलाउनुस् भनेर तर्किएकी छिन् । उद्योग मन्त्रीलाई बाइपास गरी सोझै प्रधानमन्त्री ओलीका सल्लाहकार बिष्णु रिमाललाई खुसी बनाएर उनी चोरबाटोबाट नियुक्ति निर्णय गराएर दबाबकै भरमा नियुक्तिपत्र लिने दाउमा छन् । मन्त्री यादवलाई चुनौती दिएर नियुक्ति निर्णय गराएका बस्नेत सशस्त्र प्रहरी बलमा सिपाहीबाट जागिरमा प्रवेश गरेका ब्यक्ति हुन् । द्वन्द्वकालमा माओवादी प्रभावित क्षेत्रमा हेलिकोप्टरमा सामान ओसार्दा उनी टाइमकिपरका रुपमा काम गर्थे ।

सुडान मिसनमा उनी तत्कालीन कमाण्डर तथा हालका सशस्त्रका डीआइजी खड्ग राईका रनर र ड्राइभरका रुपमा काम गर्थे । पछि सशस्त्रका हाकिमहरूको चाकरी गरी मानार्थ इन्स्पेक्टरसम्म भएर अवकाश पाएका उनी महेश बस्नेतको पालामा औद्योगिक क्षेत्रमा नियुक्त भएका थिए । उनको कार्यकाल पुस ६ मै सकिंदैथ्यो । पुस ६ मै मन्त्रालयलाई पत्तै नदिई शक्ति देखाएर उनले पुनः मन्त्रिपरिषदबाट ३ बर्षका लागि नियुक्तिको निर्णय गराउन सफल भएका छन् ।

बस्नेतका भ्रष्टाचारका रामकहानी

अध्यक्ष बस्नेतले ५ बर्षे कार्यकालमा करोडौं भ्रष्टाचार गरेका छन् । उनले हेटौंडा कपडा उद्योगको २ सय ५० रोपनी जग्गा बिक्री गरिसकेका छन् । जुन जग्गा बिक्री गर्दा उनले प्रतिरोपनी १ लाखका दरले घुस लिएको आरोप छ । पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले हेटौंडा कपडा उद्योग संचालन गर्ने योजना ल्याइरहँदा उनले जग्गा बिक्री गरिसकेका थिए ।

त्यसैगरी उनले औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड अन्तर्गत प्रतिब्यक्ति ३ लाख रुपैयाँसम्म घुस लिएर ५१ जना कर्मचारी भर्ना गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार नयाँ बनाउन लागेका औद्योगिक क्षेत्रको डीपीआरको नाममा समेत उत्तिकै अनियमितता गरेका छन् । रुपन्देहीको मोतिपुर, नेपालगंजको नौबस्ता, कन्चनपुरको दैजी, चितवनको शक्तिखोरमा थप औद्योगिक क्षेत्र बनाउने भनेको छ । ती औद्योगिक क्षेत्रको डीपीआर बनाउने क्रममा उनले करोडौं रुपैयाँ चलखेल गरेका छन् ।

बस्नेतले जग्गा दिंदा पनि घुसका आधारमा दिने गरेको आरोप छ । सरकारको नीति उत्पादनमूलक उद्योगलाई बढावा दिने छ । तर बस्नेतले उत्पादनमूलक उद्योगलाई जग्गा उपलब्ध नगराई पेट्रोल पम्प र कम्प्लेक्स खोलेर भाडामा लगाउनेहरूलाई दिएका छन् । बालाजु र हेटौंडामा पेट्रोल पम्पलाई जग्गा दिएका छन् ।