बिजुली बजारमा बन्यो नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज !

14.26K
shares

काठमाडौं । बिजुली बजारको धोवीखोला माथि नेपालकै पहिलो नेटवर्क आर्क ब्रिज निर्माण भएको छ। धोवीखोलामा निर्माण गर्न लागिएका दुई पुल मध्ये एउटाले पूर्णता पाएको हो। पुल पूरा गर्न रंगरोगन र बत्तीराख्न मात्र बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले जानकारी दिए। उनको भनाइ अनुसार केही समयमै पुलमाथि सवारीसाधन गुड्न सक्नेछन्। तर, पुललाई सडकसँग जोड्ने पहुँच मार्ग निर्माण नभएकाले सञ्चालनको टुंगो लागेको छैन।

अरनिको राजमार्ग अन्तर्गतको आठ लेन चौडाईको सडकमा एउटा मात्रै पुल थियो। मुख्य सडक र सर्भिस लेन भएर गुड्ने सडक साँघुरो पुलमाथि गुड्नुपर्ने बाध्यता थियो। नयाँ पुल बानेश्वर तर्फको सर्भिस लेन भएर गुड्ने सवारीका लागि निर्माण गरिएको हो। पुल र सडकको उचाई समान छैन। सडक र पुलको दूरी छोट्याउन करिब ५० मिटर लामो सडक बनाउनुपर्ने हुन्छ। यस विषयमा सम्बन्धित निकायले चासो देखाएको पाइदैनन्।

पुल बनाउने क्रममा पहुँचमार्ग निर्माण गर्ने विषयमा ठेक्का भएको थिएन। यो पहुँचमार्ग आयोजनाले बनाउनुपर्ने हो कि सडक विभागले भन्ने विषय पनि दुविधामा छ। आयोजनका प्रवक्ता श्रेष्ठ पहुँचमार्ग निर्माणका लागि बजेट विनियोजन नभएकाले काम अघि बढ्न नसकेको बताउँछन्। पहुँचमार्ग निर्माण गर्न विभागबाट निर्णय हुनुपर्छ।

विभागका प्रवक्ता मुक्ति गौतम पहुँचमार्ग निर्माणका विषयमा हालसम्म आयोजनको तर्फबाट कुनै जानकारी नआएको बताउँछन्। ‘पहुँचमार्गकै कारण पुल सञ्चालनमा नल्याउने भन्ने हुँदैन’, गौतमले भने, ‘आयोजनासँग छलफल गरेर टुंगो लगाउँछौं।’

यस्तो हुन्छ आर्क ब्रिज

दुई स्थानमा निर्माण भइरहेको ‘नेटवर्क आर्क’ पुल नेपालका लागि नौलो प्रविधि हो। आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि फरक हुन्छ। नेपालमा प्रयोगमा रहेका पुल पिलरमाथि निर्माण भएका छन्। नेटवर्क आर्कमा पिलर हुँदैन। पिलर नहाले पनि ‘अब्युटमेन्ट’का आधारमा पुलको वारपार आर्क ९धनुष० फिक्सिङ गरिन्छ। र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ। आर्कलाई पनि क्रस ढलान गरेर जोडिन्छ। र, केलब प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ। आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ। पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्क मार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ। पुलको सम्पूर्ण भारलाई आर्कले थेग्छ।