ऊर्जामन्त्री पुन र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता

6.72K
shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीवार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकाससाझेदार देश भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले ऊर्जा र जलस्रोत मन्त्रालय मातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरे ।

नेपालको कृषि क्षेत्रको विकासका लागि सिंचाइको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई,रानी जमरालगायतका केही ठुला आयोजना अघि बढाइरहेको जानकारी गराए ।

‘हामीले बर्षभरी नै सिंचाइ गर्न सजिलो होस् भनेर केही ठुला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउँदो सिंचाइको प्रविधि खोज्न मैले मातहतलाई निर्देशन दिएको छु, तपार्इहरुजस्ता विज्ञहरु आउँदा यो क्षेत्रमा प्रविधिको अध्ययन अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु’ भेटमा मन्त्री पुनले भने ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिंदै सिंचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग गर्न जापान सरकार तयार रहेको बताए । उनले नेपाल कृषिप्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको प्रतिवद्धता पनि जनाए ।

‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन,अनुसन्धान गर्न नेपाल आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न ईच्छुक छ’ उपमहानिर्देशक ताकामीले भने । त्यसक्रममा उनले सिंचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान नेपालमा बाँड्न इच्छुक रहेको धारण राखे । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो सहभागी थिए ।

भेटमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणका वेला कृषि क्षेत्रमा सहकार्य गर्न भएको सहमति अनुसार भ्रमणदल नेपाल-जापान आवतजावत भइरहनेबारे छलफल भएको थियो । भ्रमण दलमा कृषि मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै,सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।