आगामी वर्षायाम अगावै मेलम्चीको पानी ल्याउन माग

4.62K
shares

काठमाडौँ । मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी आगामी बर्षायाम अघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ। सञ्चार केन्द्र नेपालले यहाँ आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले हालसम्म आयोजनाका तीन वटा निर्माण व्यवसायी भाग्नु रहस्यमय बनेको बताउनुभयो।

समिति बैठकले पनि द्रुत गतिमा काम गरी छिटो राजधानीमा पानी ल्याउन सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको समस्यासमेत समाधान गर्न आयोजनाको ध्यानाकर्षण गराउनुभयो। आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीले ३६ करोड माग्ने प्रक्रिया नै पूरा नगरी पैसा नदिएको भनी प्रचार गरिएकोप्रति आपत्ति जनाउनुभयो।

खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्यायले पुरानै निर्माण व्यवसायीलाई आवश्यक बजेटको व्यवस्था गरेर आयोजनाको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो। आयोजनाको शुरुआती अवस्थामा काम गर्नुभएका इञ्जिनीयर श्रीराम न्यौपानेले ४० करोडका उपकरण भाडामा लिएर काम गरेका नेपाली निर्माण व्यवसायी मारमा परेको बताउनुभयो। सिन्धुपाल्चोकस्थित आयोजनास्थलका स्थानीयवासी पासाङतेम्बा शेर्पाले मुहानस्थलमा काममा अवरोध नगरिएको प्रस्ट पार्नुभयो। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083