तेस्रो संस्करणको डीपीएलको उपाधि अत्तरियालाई
वि.सं.२०७५ फागुन ११ शनिवार १६:४३
shares

धनगढी। तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ। शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरेको हो।
च्याम्पियन बनेको अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको महेन्द्रनगरले १२ लाख पायो। टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ जोडेको थियो। महेन्द्रनगरले दिएको लक्ष्य अत्तरियाले खेल सकिन एक बल बाँकी छँदा सात विकेट गुमाएर भेट्टायो।
अत्तरियाको जीतमा सन्नी पटेल नायक बने। उनले २६ बलमा नटआउट ४७ रन जोडे। त्यस्तै जयकिशन कोल्सावालाले ३० रनको योगदान दिँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन जोडे। बलिङतर्फ महेन्द्रनगरका लागि मोहमद नाभिद र सागर ढकालले समान दुईरदुई तथा अविनाश बोहरा र शाहब आलमले समान एकरएक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनाउने क्रमममा दिलिप नाथले सर्वाधिक ४३ रन जोडे। त्यस्तै कुशल मल्लले २५ रनको योगदान दिँदा रोहित कुमार पौडेलले २४ तथा आरिफ शेखले ११ रन बनाए। अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान दुईरदुई विकेट हात पारे।






















