आर्थिक समृद्धिको यात्रालाई मूर्तरुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य : मन्त्री थापा

5.4K
shares

काठमाडौं । महिला, बालबालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मूर्त रुप दिन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको मन्त्री बताएकी छन्। देश विकासमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं तयार रहेको समेत मन्त्री थापाले बताइन्।

राजधानीमा शनिवार नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका निर्माण व्यवसायी महिला सदस्यहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले निर्माण व्यवसायको विकासका लागि सरकारी प्रतिबद्धता व्यक्त गरेकी थिइन्। वर्तमान संविधानले नै हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा निर्माण व्यवसाय क्षेत्रमा पनि महिलाको उचित सहभागिता हुनुपर्ने मन्त्री थापाको भनाइ थियो।

निर्माण व्यवसाय क्षेत्रलाई अझ भरपर्दो तथा विश्वासिलो बनाउन तपाईहरु ठोस योजना सहित आउनुहोस्, सरकार सहयोग गर्न तयार छ’ मन्त्री थापाले भनिन्। सरकारले हालै घोषणा गरेका कार्यक्रमहरु सबै व्यवसायीको पक्षमा रहेको भन्दै थापाले आफ्नो घोषणा पूरा गर्न सरकार तयार रहेको बताइन्।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महिला निर्माण व्यवसायीहरुका लागि सरकारले ऋण तथा औजारहरुमा विशेष छुटको घोषणा गर्नुपर्ने बताए।

महिला निर्माण व्यवसायीहरुलाई सक्षम बनाउने पहिलो दायित्व राज्यकै भएको अध्यक्ष सिंहले बताए। निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्कीले व्यवसायी मैत्री ऐन कानूनको अभाव, भुक्तानीको समस्या, चन्दा आतंकलगायतका समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त रहेको बताए। महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सिमित स्रोत साधन तथा अवसरका बाबजुद महिला निर्माण व्यवसायीहरुको भूमिका प्रशंसनीय रहेको बताइ।

महासंघका महासचिव रोशन दाहालले महिला निर्माण व्यवसायीलाई अझ व्यवसायीक तथा दक्ष बनाउन वर्तमान कार्य समिति क्रियाशील रहेको बताए। महासंघ केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले महासंघका महिलाहरुको प्रतिनिधित्व बढाउन महासंघ नेतृत्वको ध्यानाकर्षण गराए। कार्यक्रममा महासंघका कानूनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसाय र यसमा महिला सहभागिताको विविध पक्षबारे प्रकाश पारे।

भेलाको बन्द सत्रमा देशभरबाट आएका महिला निर्माण व्यवसायीहरुले कार्यक्षेत्रमा भोग्नु परेका समस्या बारे महासंघ नेतृत्वको ध्यानाकर्षण गर्दै समस्या समाधानका लागि आग्रह गरेका थिए। कार्यक्रममा निर्माण व्यवसाय क्षेत्रमा उल्लेख्य योगदान दिने महिला व्यवसायीहरुलाई सम्मान गरिएको थियो। त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुर चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई नगद १५ हजार र अन्य अत्यावश्यक जिन्सी सामाग्री प्रदान गरियो।


divya collage
unigloble collage