प्रहरीले प्रदान गर्ने सेवा मन, वचन र कर्मले शुद्ध हुनुपर्छ : आईजीपी ‘खनाल’

6.47K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नव निर्मित प्रहरी कार्यालय भवनसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध हुनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालय परिसर भित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नव निर्मित एटीएमको उद्घाटन तथा नव-निर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।

समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त का साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्न सक्ने हुनुपर्नेमा जोड दिए।

नव-निर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचारा विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग पुर्‍याउने चर्चा गरे।

समारोहमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्चात् थप ऊर्जा प्राप्त हुनुका साथै प्रहरी सेवामा नविन सोचका साथ उच्चस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवन, पश्चिम गेट एवम् आगन्तुक कक्षको निर्माण सम्बन्धी प्रतिवेदन तथा अडिटोरियम हलको बारेमा जानकारी दिए।

प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सेवाग्राही तथा आगन्तुकको लागि सुविधा सम्पन्न आगन्तुक कक्ष, पश्चिम गेटमा मोटोराइज्ड गेट, इलेक्ट्रिकल बेरियर साथै बैंक एटीएम समेत राखिएको छ।

नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवम् कार्य विभाग र मानवश्रोत एवम् प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य संचालन भइरहेको छ।

नेपाल सरकारको नियमित बजेट र शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा कूल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। साथै, कुल २३ हजार ७ सय २५ वर्गफिटमा बेसमेन्ट सहित निर्माण हुने २ तले अडिटोरियम हलमा भीआईपी लञ्ज सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहने पनि बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083