घाइते छोरा भेट्न काठमाडौं आएकी आमाले एकाएक छोराको शव देखेपछि….
वि.सं.२०७५ फागुन १७ शुक्रवार १२:१४
shares

काठमाडौं। दिवंगत पर्यटन मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। उनका बाबुको ६ महिना अघि मात्रै मृत्यु भएको थियो।

बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी आमा रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी मिठु माथि अहिले अर्को बज्रपात आइलागेको छ। झन्डै ६५ बर्षकी मिठु घिमिरेले मृत्युबारे बिहीबार सम्म पनि बेखबर थिइन्। उनलाई छोरा दुर्घटनामा घाइते भएको भनेर भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए।


सायद उनी बस दुर्घटनामा घाइते भएको आफ्नो जेठो छोरा अर्जुनसँग के–के कुरा गर्छु भनेर मनमनै गम्दै काठमाडौ आएकी थिइन् होला। तर नियतीको खेल उनी छोरा भेट्न होइन श्रद्धाञ्जली दिनका लागि आएकी थिइन्।

छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाएर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए। अर्जुनका बुवा उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए।

मृत्यु भएको छोराको अनुहार सम्म हेर्न पाइनन् उनले। हेलिकोप्टर दुर्घटनामा मृतक घिमिरेको शव चिन्न नसक्ने गरी जलेको छ। उनी टुँडिखेलमा श्रद्धाञ्जलीका लागि पुग्दा भावविह्वल थिइन्।












