एसईई पास गराउन विद्यार्थीसंग विद्यालयले माग्यो घुस!

6.62K
shares

काठमाडौं। एसईई परीक्षामा विद्यार्थी पास गराउन भन्दै जाजरकोटको विद्यालयले रकम मागेको अभिभावकले गुनासो गरेका छन्।

एसईई उतीर्ण गराउन विद्यार्थीलाई चिट चोराउनुपर्ने र त्यसका लागि पैसा चाहिने भन्दै हरेक विद्यार्थीबाट २५ सयदेखि तीन हजार रुपैयाँ रकम मागिएको अभिभावकले गुनासो गरेका छन्।

छेडागाड नगरपालिका–५ को भाग्योदय माविमा विद्यार्थीहरुलाई कसरी पास गराउने भन्ने विषयमा बैठक नै बसेको थियो। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कर्णबहादुर चदारा, प्रधानाध्यापक शान्तबहादुर शाही र १० भन्दा बढी अभिभावक बैठकमा सहभागी थिए।

बैठकमा सहभागी एकजना अभिभावकले भने, ‘चिट चोरेर पास हुने भए २५ सयदेखि ३ हजार रुपैया“ चाहिन्छ भनियो। कतिपयले हुन्छ पनि भने। कतिपयले हाम्रा छोराछोरी फेल भए होउन्, तर पैसा दिन सकिँदैन भने।’ ‘एसएलसी परीक्षा आएपछि जाजरकोटमा पहिले पनि यसरी पैसा उठाइन्थ्यो। अहिले पनि उठाउन थालिएको छ,’ स्थानीय दीर्घबहादुर रावतले भने।

विद्यालयका प्राधानाध्यापक शान्तबहादुर शाहीले भने परीक्षालाई व्यवस्थित बनाउनका लागि छलफल गरेको बताए। स्थानीय तहबाटै परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले केही रकम आवश्यक पर्ने र उक्त रकम विद्यार्थीबाट नभई नगरपालिकासँग माग गरिएको प्रधानाध्यापक शाहीले बताए।

छेडागाड नगरपालिकामा रहेका माध्यमिक विद्यालयका प्राधानाध्यापक र मेयर लालबहादुर महतारासहितको बैठकमा नगरपालिकाले एक परीक्षा केन्द्रलाई ५० हजार रकम दिने प्रतिबद्धता जनाएको उनको दावी छ।

‘बैठकमा हामीले परीक्षा व्यवस्थित गर्नका लागि नगरपालिकासँँग ५० हजार मागेका छौं,’ उनले भने, ‘मेयरले आवश्यक रकम नगरपालिकाले दिने र विद्यार्थीलाई मर्का पर्ने काम गर्न नपाइने बताउनुभयो।’

छेडागाडका १४ विद्यालयका छात्र-छात्राले एसईई परीक्षामा सहभागिता जनाउँदैछन्। उनीहरुका लागि चार वटा परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका शिक्षा समन्वय अधिकारी सुधिन बुढाथोकीले स्थानीय तहमै शिक्षाका कर्मचारी पुगिसकेकोले परीक्षा मर्यादित हुने बताए।

नयाँ संरचना अनुसार जिल्लामा कर्मचारी नभएको भन्दै उनले सम्बन्धित स्थानीय तहकै निगरानीमा परीक्षा मर्यादिन हुने विश्वास लिएको बताए।