सेनाबाट माओवादीले लुटेका केही अत्याधुनिक हतियार विप्लव माओवादीका हातमा

5.62K
shares

काठमाडौ। प्रहरीले बुधबार धरान उपहानगरपालिका–६ पानमाराबाट एम१६ र एलएमजी राइफलसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता देवकुमार लिम्बूलाई पक्राउ गर्‍यो।

उनी चढेको मे ५ प ७५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा तन्नाले बेरेर राखेको अवस्थामा एलएमजी, त्यसको स्टेन्ड, म्यागजिन दुई थान र एम १६ राइफल र त्यसको म्यागजिन फेला परेको थियो।

प्रहरी अनुसन्धानबाट मोरङ केराबारी गाउँपालिका १० बाहुनी बस्ने ४२ वर्षीय लिम्बू विप्लव माओवादीको कोसी ब्युरो सदस्य तथा मोरङ धनकुटा जिल्लाका इञ्चार्ज रहेको खुलेको छ।

उनको पक्राउसँगै महत्वपूर्ण अर्को पाटो पनि खुलेको छ प्रहरी उच्च स्रोतका अनुसार लिम्बूबाट बरामद दुबै हतियार सशस्त्र युद्धताका प्रचण्ड नेतृत्वको माओवादीले सेनाको ब्यारेकबाट लुटेका हतियार हुन्।

कहाँ-कहिले र कुन ब्यारेकबाट लुटिएका हतियार हुन् भन्ने कुराको अनुसन्धान सेना आफैंले पनि गरिरहेको छ, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, रोल्पाबाट माओवादीले लुटेको हतियार भएको प्रारम्भिक सूचना सेनाबाट आएको छ।’

एम १६ अमेरिकी सेनाले चलाउने अत्याधुनिक राइफल हो भने एलएमजी भारतमा निर्मित राइफल हो। एलएमजी सेनाबाहेक सशस्त्र प्रहरीले पनि बोक्ने गर्छ। तर एम १६ राइफल नेपालमा सेनाले मात्र चलाउँछ।

एम-१६ ले पाँच सय पचास मिटरसम्म फायर क्षमता राख्छ। यसमा स्वचालित र अर्धस्वचालित फायर सिस्टम छन्। स्वचालित र अर्धस्वचालित गोली लोडेड दुबैमा यो हतियारले लामो दूरीमा असर गर्छ। यसले स्वचालितमा मिनेटमा ७०० ९५० र अर्धस्वचालितमा ४५ ६० गोली फायर गर्छ।

यी हतियार बरामद पछि मोरङका उत्तरी क्षेत्रमा माओवादी गतिविधि बुझ्न र हतियारबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको इन्टेलिजेन्स ब्युरोबाट टोली खटाएको छ। डिएसपीको नेतृत्वमा खटिएको उक्त टोलीले सेनासँग मिलेर हतियारको अनुसन्धान गरि रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

अनुसन्धानमा प्रतिआतंकवाद निर्देशन कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालय, संघीय इकाइ प्रहरी सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, मोरङ, इलाका प्रहरी कार्यालय धरान लगायत धेरै युनिटहरूले अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बतायो।

अहिले एउटा कटुवा पेस्तोल बरामद हुँदा पनि सेनाले चासो राखेर अनुसन्धान गरि रहेको अवस्था हो, सेना आफैंले चलाउने गरेको हतियार बरामद भएको अवस्थामा उसले अनुसन्धान नगर्ने कुरै आउँदैन प्रहरी उच्च स्रोतले भन्यो।धरानबाट बरामद दुबै हतियारबारे नेपाली सेनाले पनि अनुसन्धान गरि रहेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए।

कुन नम्बरको हतियार कहाँबाट हराएको थियो, हाम्रो टोलीले अनुसन्धान गरि रहेको छ ढकालले भने दुबै हतियार सेनाले नै बढी प्रयोग गरेको हुनाले प्रहरीसँग पनि सहयोग लिएर अनुसन्धान गरि रहेका छौं।

२०६३ चैत २७ गते राष्ट्रसंघीय शान्ति मिसन अनमिन ले माओवादी लडाकुसँग भएका हतियारको तथ्यांक सार्वजनिक गरेको थियो। कन्टेनरमा २ हजार ८५५ हतियार, शिविर पेरिमिटर सुरक्षामा ५२४ हतियार र माओवादी नेतृत्वको सुरक्षाका लागि ९६ वटा हतियार रहेको अनमिनले बताएको थियो।

अनमिनले सार्वजनिक गरेको हतियार सूची सत्य नभएको भन्दै त्यतिबेला नै सेनाले हतियार लुकाइएको शंका गरेको थियो। सेना, प्रहरी, सशस्त्र प्रहरीसँग युद्धको समयमा ३ हजार ४३० हतियार माओवादीले लुटेको जनाइएको थियो। त्यस बाहेक पनि माओवादीसँग विभिन्न अत्याधुनिक हतियार रहेको आशंका गरिएको थियो। तीमध्ये २ हजार ८२४ थान हतियारमात्र कन्टेनरमा राखिएको थियो।