‘प्रचण्ड माथि प्रहार गर्नु भनेको गणतन्त्रको विरोधी गर्नु हो’
वि.सं.२०७५ चैत ८ शुक्रवार १२:३८
10.69K
shares
shares

भुमिराज अधिकारी काठमाडौं । ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र वा परिवर्तन बच्ने हो त ?’ केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममै प्रश्न गरे। शहीद-बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई नेकपा कार्यालय पेरिसडाँडामा केही दिन अघि सम्बोधन गर्दै प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट आफ्नो हत्या गर्ने योजना बनेको समेत खुलासा गरे।अध्यक्ष प्रचण्डको हत्या हुने सूचना सुरक्षा निकायमा पुगेको यसपालि पहिलो घटना होइन। यस अघि समेत हत्या हुने योजना र षड्यन्त्रबारे पटक-पटक प्रचण्डलाई सूचना पुग्ने गरेको छ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी जस्तै आफ्नो पनि हत्या हुन सक्ने भनेर प्रचण्डले वर्षौ अघि अभिव्यक्ति दिएका थिए।अध्यक्ष प्रचण्डका सम्बन्धमा आउने गम्भीर खालका सूचना र अभिव्यक्तिले नेपाली राजनीति तरङ्गित हुने गरेको छ। प्रचण्ड एउटा व्यक्ति मात्रै नभएर शासन व्यवस्था परिवर्तनका सूत्रधार भएकाले उनका विषयमा आउने गम्भीर सूचनाले सर्वसाधारणको मन-मुटुमा समेत प्रभाव पार्ने गर्छ। प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वले जनतालाई राष्ट्रप्रमुखदेखि राष्ट्रपतिसम्म बन्ने बाटो खुला गरेको छ।देशमा गणतन्त्र आए पछि जनताले आफ्नो भाग्यको फैसला आफैं गर्न सक्ने भएका छन्। मुलुकमा गणतन्त्र आए पनि जनतासम्म त्यसको अनुभूति पुग्न नसकेको गुनासा स्वभाविक आउँछन् तर जनताले आफ्नो शासन आफैं गर्ने व्यवस्था हाल सम्मकै उत्कृष्ट हो । लामो संक्रमणकालीन र राजनीतिक नेतृत्वको कमजोरीका कारण जनताले अनुभूति गर्ने गरी गणतन्त्र स्थापित हुन सकेको छैन।राजनीतिक स्थिरतामा चलखेलव्यक्तिगत स्वार्थ भन्दा जनताको दीर्घकालीन हितका लागि काम गर्ने अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि प्रतिनिधिसभा निर्वाचनअघि तत्कालीन नेकपा एमालेसँग चुनावी तालमेल गर्ने अनपेक्षित निर्णय लिए। चुनावी तालमेल हुँदै देखि प्रचण्डलाई केन्द्रित गरेर थुप्रै प्रलोभन देखि धम्कीसम्म दिएको देखियो। तर प्रचण्ड राजनीतिक स्थिरताका लागि आफ्नो निर्णयमा स्थिर रहे।चुनावी तालमेलपछि एमाले-माओवादी गठबन्धनको झण्डै दुईतिहाइ बहुमत आए पछि प्रचण्डलाई प्रधानमन्त्री बन्ने गठबन्धन तोड्नेसम्मका आकर्षक अफर आए। प्रचण्डलाई लोभ्याएर मुलुकमा अस्थिरता मच्चाउने प्रयास गरिए। तर प्रचण्डले पदको लोभभन्दा मुलुकको स्थिरतालाई प्राथमिकतामा राखे। विगत कैयौं वर्षदेखिको अवस्था हेर्दा राजनीतिक अस्थिरता नै मुलुकको प्रमुख समस्याझै देखिएको थियो।तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वका सरकार गठन भयो। पूर्वघोषित निर्णय अनुसार नै एमाले र माओवादीबीच पार्टी एकीकरण भएर नेकपा पार्टी गठन भयो। जसको अध्यक्ष ओली र प्रचण्ड दुवै भए।प्रचण्डको सशक्त भूमिकाका कारण सरकार र पार्टी दुवै बलियो भए पछि अस्थिरतावादी समूह आत्तिएका छन् र प्रचण्ड माथि अनेकथरि प्रहार गर्न थालिएको छ। प्रचण्ड भने गणतन्त्रको अनुभूति जनतासम्म पुर्याउने उद्देश्य सहित राजनीतिक स्थिरताका लागि सरकारलाई सघाइ रहेका छन्।राजावादी देखि विप्लवसम्मसरकारको नेतृत्व अध्यक्ष ओलीले गरेपनि प्रचण्डको साथ रहँदासम्म राजनीतिक अस्थिरता मच्चाउन नसकिने देखेर यथास्थितिवादी र प्रतिक्रियावादी शक्ति आत्तिएका छन्। राजनीतिक स्थिरता कायमै रहे गणतन्त्र संस्थागत हुने र गणतन्त्र संस्थागत भए आफ्नो अस्थित्व धरापमा पर्ने चिन्ता केही तत्वमा प्रष्टै देखिन थालेको छ।पछिल्लो समय राजावादी देखि विप्लव समूहमा छटपटाहट देखिएको छ। निरंकुश राजतन्त्र फाल्नमा प्रचण्डको नेतृत्वदायी भूमिका रहेका कारण राजावादी प्रचण्डसँग रुष्ट छन्, सँगसँगै प्रचण्ड सक्रिय राजनीति र शक्तिमा रहेसम्म राजतन्त्र फर्काउन नसकिनेमा समेत जानकार छन्। तसर्थ प्रचण्ड र गणतन्त्रलाई निशानामा राखेर राजावादी शक्तिहरू सक्रिय भइ रहेका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा देखि तराई क्षेत्रमा भ्रमण र भेटघाटका नाममा राजनीतिक चलखेल गरिरहेका छन् भने पूर्वपञ्चहरू कमल थापा र पशुपति राणाको पार्टीले छुट्टाछुट्टै अभियान र आन्दोलन गरि रहेका छन्। सबैको एउटै लक्ष्य छ – गणतन्त्रलाई बद्नाम गर्दै राजतन्त्र फर्काउने र आफ्नो स्थान सुरक्षित गर्ने।एकीकृत जनक्रान्तिको नाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि सरकारी अभियान र कार्यक्रमलाई असफल पार्र्ने भूमिका निर्वाह गरि रहेका छन् । सरकारले समृद्धिको खाका तयार गरिहँदा विप्लवले बमबारुद र हातहतियारको बलमा चुनौती दिइ रहेका छन् ।विदेशी लगानी भित्रिन नदिने र आर्थिक क्षेत्रमा त्रास सिर्जना गर्ने खालका गतिविधि विप्लव समूहले गरि रहेको छ। गणतन्त्र संस्थागत हुन नदिनमा विप्लव समूहले अघोषित भूमिका निर्वाह गरि रहेको छ।निशानामा गणतन्त्रनेपालमा गणतन्त्र संस्थागत भएर समृद्धि र विकासको मूल फुटेको धेरैलाई रुचाएको छैन। शान्ति प्रक्रिया, संविधान निर्माण देखि समृद्धिको अभियानसम्म आइ पुग्दा चलखेलहरू निरन्तर चलि रहेका छन्। तर पछिल्लो राजनीतिक उपलब्धीका जन्मदाता प्रचण्डले सबै चलखेललाई निस्तेज पारि रहेका छन्। तसर्थ अब प्रचण्डलाई शक्तिबाट अलग गर्ने, भौतिक आक्रमण गर्ने, बद्नाम गर्ने लगायतका योजना बनि रहेका छन्।केही दिन अघि एउटा टेलिभिजन कार्यक्रमका प्रस्तोताले प्रचण्डको योगदान र भूमिकालाई चटक्कै बिर्सिएर उनलाई बद्नाम गर्ने नियतले तथानाम अभिव्यक्ति दिए। टेलिभिजन प्रस्तोताको त्यो आक्रामक प्रस्तुती प्रचण्डलाई बद्नाम गर्ने र असफल पार्ने अभियानकै निरन्तरता हो। तर जनताले त्यो प्रस्तुतीलाई खारेज गर्दै प्रतिवाद गरि रहेका छन्। विभिन्न माध्यमबाट प्रचण्ड माथि भइ रहेका प्रहारलाई निस्तेज पार्दै गणतन्त्र संस्थागत गर्न सबै गणतन्त्रवादी नागरिक सचेत बन्नुपर्छ। प्रचण्ड माथिका अनेकथरि प्रहार गणतन्त्र विरोधी हुन्।




























