बेलायती प्रधानमन्त्रीलाई आफ्नै मन्त्रिमण्डलका सदस्यले गरे हटाउने षड्यन्त्र

4.8K
shares

लन्डन (एजेन्सी) । आफ्नै सरकारका मन्त्रीहरुबाट बेलायतमा टेरिजा मेलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने प्रयाश भएको छ। बेलायतको सण्डे टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचारमा जनाइएअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा मेको भूमिकाबाट असन्तुष्ट मन्त्रीहरुले सामूहिक राजीनामा दिएर उनलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरिरहेका छन्।

आफ्नो समाचारमा सण्डे टाइम्सले ११ श्रोतलाई उद्धृत गरेको जनाएको छ। जसअनुसार मेलाई १० दिनभित्रै प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेको पत्रिकाले लेखेको छ। मेको स्थानमा को प्रधानमन्त्री बन्ने भन्नेबारे स्पष्ट नभइसकेको समाचारमा उल्लेख छ। यद्यपि सत्तारुढ कन्जर्भेटिभ पार्टीका उपनेता डेभिड लिडिङ्टन, वातावरणमन्त्री माइकल गुभ, विदेशमन्त्री जेरेमी हण्टलगतयत मे सरकारको बहिर्गमनपछि अन्तरिम प्रधानमन्त्रीको उम्मेद्वार रहेको बताइएको छ।

तर, लिडिङ्टन धेरै नै युरोपियन युनियनको समर्थक रहेकाले मन्त्रीहरुले माइकल गुभलाई अन्तरिम प्रधानमन्त्रीमा सिफारिस गर्नसक्ने बताइएको छ। मन्त्रीहरुले सोमबार प्रधानमन्त्री मेलाई राजीनामा दिन दबाब दिने र मेले राजीनामा नदिएमा मन्त्रीहरुले १० दिनभित्र सामूहिक राजीनामा दिनसक्ने समाचारमा उल्लेख छ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा युरोपेली युनियनसँग गत नोभेम्बरमा मेले गरेको सम्झौता बेलायती संसद्ले दुईपटक अस्वीकार गरेको थियो। सभामुख जोन बर्कोले त्यही सम्झौता तेश्रो पटक संसद्मा प्रस्ताव गर्न नदिइने घोषणा गरेपछि मे समस्यामा परेकी बताइएको छ।

पछिल्लो समय मेले बेलायत युरोपेली युनियनबाट बाहिरिने म्याद आगामी मे महिनाको २२ सम्म थप्न सम्झौता गरेकी थिइन्। तर, पनि उनको भूमिका प्रभावकारी नभएको र सरकारका मन्त्रीहरु निकै व्यग्र भइरहेकाले उनीहरुले राजीनामा दिने तयारी गरिरहेको सण्डे टाइम्सले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083