भारतका सबैभदा उत्कृष्ट बलर घाइते, मुम्बइ इण्डियन्स र भारतको राष्ट्रिय टिमलाई झट्का
वि.सं.२०७५ चैत ११ सोमवार ११:३२
shares

काठमाडौं। भारतका अहिलेका सबैभन्दा उत्कृष्ट र प्रमुख बलर जसप्रित बुमराह घाइते भएका छन्। गएराती भएको मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्सबीचको आइपिएल खेलको क्रममा उनी घाइते भएका हुन्। उनी घाइते हुँदा मुम्बइ इण्डियसलाई झट्का लागेको छ किनकि उनी मुम्बइको बलिङ विभागमा मुख्य बलर हुन्। यतिमात्र होइन उनी घाइते हुँदा भारतको राष्ट्रिय टिम पनि समस्यामा पर्न सक्छ।
आइपिएल लगत्तै विश्वकप हुँदैछ। विश्वकपमा भारतीय राष्ट्रिय टिमका मुख्य बलर पनि बुमराह नै हुन्। विश्वकपलाई मध्यनजर गर्दै भारतका कप्तान विराट कोहलीले यसअघि नै विश्वकप खेल्ने खेलाडीलाई आइपिएलका पछिल्लो खेल नखेली आराम गर्न र विश्वकपको तयारी गर्न सुझाव दिएका थिए। यस्तोमा बुमराह घाइते हुनु भारतको लागि शुभ संकेत होइन। बुमराह भारतको टिममा सबैभन्दा माथिल्लो ए प्लस श्रेणीका एकमात्र बलर हुन्। ए प्लस श्रेणीमा बुमराहसँगै कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा मात्र छन्।
गएराति दिल्ली क्यापिटल्सविरुको पहिलो इनिङमा बुमराह अन्तिम ओभर बलिङ गर्न आएका थिए। अन्तिम ओभरको अन्तिम बल बुमराहले ऋषभ पन्तलाई फालेका थिए जसमा पन्तले सिधै बलरतर्फ शट खेले। सोही बल रोक्ने क्रममा बुमराहको काँधमा चोट लाग्यो। उनी पीडाले आत्तिएको प्रस्ट देखिन्थ्यो। तत्कालै उनलाई बाहिर लिएर उपचार सुरु भयो।
मुम्बइ इण्डियन्सको ब्याटिङ सुरु भएपछि खेलका कमेन्टेटर संजय मांजरेकरले बुमराह ठिक भएको बताएका थिए तर मुम्बइको ९ औं विकेट गएपछि अन्तिम ब्याट्सम्यानको रुपमा बुमराह ब्याटिङ गर्न आएनन्। बुमराह ब्याटिङ गर्न नआउनुको अर्थ हो, उनी ठिक भएका छैनन्। यद्यपि उनको चोट कत्तिको गम्भीर हो र उननी कहिलेसम्म मैदानबाहिर रहनुपर्ने हो भन्ने विषयमा आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन।






























