दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषीलाई उम्मेदवार
वि.सं.२०७५ चैत १२ मंगलवार १२:२३
shares

काठमाडौं-भारतीय जनता पार्टी भाजपा ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ। दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो।
विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन्। मणिपुरको काङपोख जिल्लामा जन्मेका विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ। भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ। विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ आरएसएस निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन्। समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन्। भाजपालाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ।
विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसआिघ जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए। यसपटक पनि भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो। तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो।
दार्जिलिङमा नेपाली भाषीलाई नै उम्मेदवार बनाउने माग आए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका आहलुवालियाको विकल्पको रूपमा अन्य शीर्ष नेताहरूको नाम पनि चर्चामा आएका थिए। भाजपा संसदीय बोर्डमा बसेको आकस्मिक बैठकले पहिले आहलुवालियाको ठाउँमा पार्टीका दिग्गज नेताहरू अरूण जेटली र सुभ्रमन्यम स्वामीलाई उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो।
पछि मोदी सरकारमा अर्का राज्यमन्त्री हरदीप सिंह पुरीको नाम पनि चर्चामा आएका थियो। तर अन्त्यमा दार्जिलिङ सीटमा जीत पक्का गर्नको लागि नेपाली भाषीलाई नै उम्मेदवार बनाउने निष्कर्षमा भाजपा संसदीय बोर्ड पुगेको बताइएको छ।
विष्टले दार्जिलिङमा केन्द्रीय विश्वविद्यालयको स्थापनाको साथै गोरखा जातीको स्वाभिमानका लागि विकासका काम गरेर गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। चिया वगानका कर्मचारीलाई अधिकार दिलाउनुको साथै बन्द अवस्थामा रहेको चिया बगान र लघु उद्योग तथा औद्योगिक क्षेत्रका समग्र विकासका काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन्।































