बार निर्वाचनमा प्रगतिशील समूहको अग्रता कायमै, यस्तो छ जीतको हिसाब-किताब
वि.सं.२०७५ चैत १९ मंगलवार ११:४१
shares

काठमाडौं। नेपाल बार एसोसिएसनको प्रारम्भिक मत गणनामा अग्रता हासिल गरिरहेको प्रगतिशील-वामपन्थी समूहले आफ्नो अग्रतालाई अझ फराकिलो पारेको छ।
पछिल्लो मत गणना अनुसार प्रगतिशील समूहका अध्यक्ष चण्डेश्वर श्रेष्ठ १ सय ९६ मतका साथ अग्रस्थानमा रहँदा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले १ सय ९ मत साथ पछ्याइरहेका छन्। महासचिवमा पनि अगाडि रहेका प्रगतिशील समूहका सुरेन्द्र थापाले १ सय ८५ मत प्राप्त गर्दा प्रजातान्त्रिक प्यानलका लिलामणि पौडेलले १ सय ११ मत प्राप्त गरेका छन्।
हिजो भएको प्रारम्भिक मतगणनामा पनि प्रगतिशील पक्षले नै अग्रता हासिल गरेको थियो। मोरङ, इलाम र झापाको मतपेटिका गणनाको क्रममा प्रगतिशील समूहका अध्यक्ष पदका उम्मेदवार ७१ मत प्राप्त गरेका थिए भने प्रजातन्त्रवादी समूहका सुनिल पोखरेलले ३६ मतका साथ श्रेष्ठलाई पछ्याएका थिए। झापा, मोरङ र इलामको मतगणना सकिँदा वामपन्थी समूहको प्रारम्भिक अग्रता कायम भएको हो। यद्यपी, काठमाडौँ उपत्यका बाहिरको गणनामा भने वामपन्थीहरुले सधैँ अग्रता कायम गर्ने गरेका छन्।
बारको निर्वाचनमा अन्तिम फैसला भने सबैभन्दा बढी मतदाता रहेको उपत्यकाको मतले गर्दै आएको छ जहाँ प्रजातान्त्रिक समूहको सधैँ अग्रता रहने गरेको छ। तर उपत्यका बाहिरको मतगणनामा प्रगतिशील पक्षले अग्रता फराकिलो बनायो भने उपत्यकाको मतले मात्र प्रजातान्त्रिक समूहलाई विजयी बनाउन सक्ने छैन।
उपत्यका बाहिर २ सय देखि साढे दुई सय मतको अग्रता बनाउने नसके वामपन्थीहरुलाई विजय हासिल गर्न गाह्रो हुन्छ चुनावबारे जानकार एक अधिवक्ताले नेपालखबरसँग भने त्योभन्दा कम मतान्तरका साथ वामपन्थी समूह उपत्यका प्रवेश गर्नुपर्ने भयो भने जीतका लागि चमत्कारकै आवस्यकता पर्छ।
१० हजार ३ १३ मतदाता रहेको नेपाल बारको शनिबार ९१६ चैत्र० मा भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको छ। सबैगरी उपत्यकाभित्र ४ हजार ४३ मत खसेको छ। त्यसमध्ये प्रजातन्त्रवादी समूहको बर्चश्व रहेको सर्वोच्च बारमा ६ सय ४४ मत खसेको छ आफ्नो बर्चश्व रहेको क्षेत्रमा कम मत खसेकाले पोखरेलको विजयमा अप्ठेरो पर्ने एकथरिको आँकलन छ।
यसैगरी वामपन्थीहरुको बर्चश्व रहेको पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको छ र यसले प्रगतिशील पक्षलाई उत्साहित बनाएको छ काठमाडौँ बारमा १ हजार ५ सय ८० मत खसेको छ। ललितपुर बारको ५ सय २ र भक्तपुर तथा नाम सारिएका ४ सय २९ मत उपत्यकाबाट खसेको छ। तीन वर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्य समिति २५ सदस्यीय हुने छ। अध्यक्ष पदमा ८ जना उम्मेदवार रहेका छन्।
शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक-एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। बार निर्वाचनको थप मतगणना मंगलबार विहानदेखि फेरि सुरु भएको छ।































