काँग्रेसमा मिल्यो भागबण्डा : सिटौला यता न उता

8.41K
shares

काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै छ। केन्द्रीय कार्य सम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने लगायत समसामयिक विषयमा छलफल गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आज बस्ने बैठकमा हुने छलफलका एजेण्डाबारे सहमति जुटाउन शुक्रबार अपरान्ह सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बीच छलफल भएको थियो।

उक्त छलफलमा सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन, केन्द्रीय विभागका संयोजक तोक्ने विषय सहित पार्टीको देशव्यापी जनजागरण अभियान सञ्चालनबारे पनि नेताहरुसँग राय सुझाव मागेका थिए।

पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको संख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेको भए पनि तत्कालको परिस्थितिमा निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानको आधारमा पदाधिकारी सहित २९ सदस्यीय समिति गठन गर्न सहमति जुटाएको बुझिएको छ।

यसरी कार्यसम्पादन समिति गठन गर्दा सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक÷एक सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल बाहेक बाँकी पदमा केन्द्रीय सदस्यमध्येबाट चयन हुने छन्।

छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवा ६०–४०को अनुपातमा भए पनि कार्यसम्पादन समिति मिलाएर गठन गर्न तयार देखिएका छन्। त्यसका लागि देउवाले वरिष्ठ नेता पौडेललाई आफ्नो कोटाबाट पदाधिकारी बाहेक ७ देखि ८ जनाको नाम दिन भनेका छन्।

यस्तै पार्टीको नयाँ विधान अनुसार २८ केन्द्रीय विभाग रहेका छन्। तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगि सक्दा पनि केन्द्रीय विभाग गठन हुन सकेको छैन। यस बाहेक बैठकले पार्टी विधान अन्तर्गतको नियमावली बनाउन ढिलाइ हुने देखिएपछि पार्टीको क्रियाशील सदस्यता वितरणका लागि आवेदन फारमको ढाँचा पनि स्वीकृत गर्ने, विभिन्न भ्रातृ संस्थाको विधान समेत पारित गर्ने बताइएको छ।

सिटौला यता न उता

पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला भने यता न उता भएका छन् ।

ती नेताले भने,‘सभापति ज्यूले ६०–४०को भागबण्डाबाट जाने प्रस्ताव राख्नु भयो। तर वरिष्ठ नेता (रामचन्द्र पौडेल) ज्यूले सिटौलाको भाग कता पर्छ भन्नु भयो। उहाँ (सिटौला) पनि त्यही हुनुहन्थो।

उहाँले आफूलाई सभापति र वरिष्ठ नेता बाइपास गरेको भन्दै रुष्ट भएर चलिरहेको छलफलबाट उठेर हिँड्नु भयो।’ उनका अनुसार सभापति देउवाले सहमतिका लागि सिटौला पक्षको व्यवस्थापन गर्नु आफू तयार रहेको बताएका थिए। तर सभापति देउवा पक्षका कतिपय नेताहरुले सिटौला पक्षले वरिष्ठ नेता पौडेल पक्षसँग भागबण्डा खोज्नु पर्ने तर्क राखेका थिए।

उनीहरुले पार्टीको महाधिवेशनमा सिटौला सभापति देउवासँगै भए पनि पछिल्लो समय विभिन्न भातृ संस्थाको अधिवेशन तथा जिल्ला सभापतिको भेलामा पौडेल समूहसँगै संग्लनता रहेको भन्दै पौडेल समूह नैै मिलाउनु पर्ने बताएका थिए।

तर पछिल्लो समय वरिष्ठ नेता पौडेलसँग निकै नजिक मानिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले सिटौला गत महाधिवेशन र त्यसपछिको लामो समय सभापति देउवा कै टिममा रहेरको भन्दै सभापतिकै कोटामा राख्नु पर्नेमा बताएको थिए।

सभापति देउवाले सहमति गरी भोलि नै कार्यसम्पादन समिति गठन गर्न तत्परता देखाए पछि पौडेल पक्षका सदस्यहरुको सूची तय गर्न शनिबार अपरान्ह १२ बजे उक्त समूहको बैठक बस्ने तयारी भइ रहेको छ।

सम्भवत् पौडेल पक्षबाट कार्यसम्पादन समितिमा रहने सदस्यहरुको नाम आए पछि भोलि साँझसम्ममा सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट उक्त समिति अनुमोदन गराउने तयारी गरि रहेका छन्।

कार्यसमितमा नेता छान्न सकस

६०–४०को भागबण्डा गर्दा देउवाको कोटामा २९ मध्ये न्यूनतम १७ जना सदस्य रहने छन्। जसमा देउवाले नेता सिटौलाको व्यवस्थापन गर्नु परे बाँकी १० जना आफ्नो समूहबाट चयन गर्ने छन्।

तर, चालिस प्रतिशत भाग अर्थात करिब ११ देखि १२ जनाको सिट पाउने वरिष्ठ नेता पौडेलका लागि आफू सहित तीन पदाधिकारी कटाएर बाँकी संख्यामा कसलाई राख्ने र कसलाई छाड्ने भन्ने सकस देखिन्छ।

सभापति देउवाले यसअघि गठन गरेर विघटन गरेको कार्यसम्पादन समितिमा हाल केन्द्रीय समितिमा वरिष्ठताको रोलक्रम रहेका सदस्यहरुलाई नै मनोनित गरेका थिए ।

त्यसलाई निरन्तरता दिएमा सभापति देउवाले आफ्नो समूहबाट नेताहरु गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, प्रदिप गिरि, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, फरमुल्लाह मन्सुर, रमेश लेखक, मानबहादुर विश्वकर्मा, एनपी साउद लगायतका नेतालाई समावेश गराउने छन्।

साथै सभापति देउवालाई पौडेल गुटबाट आएका नारायण खड्का, नरहरि आचार्य, आनन्दप्रसाद ढुंगानाको व्यवस्थापन कसरी मिलाउने भन्ने चिन्ता छ।

यता पौडेल समूहबाट प्रकाशमान सिंह, रामशरण महत, अर्जुनरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मीनेन्द्रप्रसाद रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला जस्ता नेताहरुको व्यवस्थापन गर्नु पर्ने देखिन्छ।

पहिले देउवा समूहमा रहेका अर्जुननरसिंह केसी र कुलबहादुर गुरुङले पनि देउवासँगको सम्बन्ध तोडि सकेको अवस्थामा देउवाले सिटौलाको व्यवस्थापन गरिदिएपनि पौडेललाई बाँकी सदस्यको व्यवस्थापन निकै पेचिलो बन्ने देखिएको छ।

यसका अतिरिक्त देउवा र पौडेलका लागि कार्यसम्पादन समितिमा विधान बमोजिम महिलाको ३३ प्रतिशत उपस्थिति कसरी व्यवस्थापन गर्ने भन्ने पनि चुनौति देखिन्छ। त्यसरी महिलाको प्रतिनिधित्व गराउनु परेमा देउवाले डिला संग्रौला, अम्बिका बस्नेत र पुष्पा भुसाल, इश्वरी न्यौपाने लगायतको व्यवस्थापन गर्नु पर्ने छ। यता पौडेलका लागि कमला पन्त, रत्ना शेरचनको बोझ थपिने छ।


divya collage
unigloble collage