राष्ट्र बैंकले प्रदेशस्तरका कार्यालय संचालन गर्ने, कर्णाली प्रदेशमा भवनका लागि टेण्डर

9.88K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कार्यासञ्‍चालन संघीयता अनुसार अघि बढाउने भएको छ। राष्ट्र बैंकले संघीयता कार्यान्वयनको लागि सातै प्रदेश कार्यालय सञ्‍चालन गर्ने जनाएको हो। अन्य ६ वटा प्रदेशका राष्ट्र बैंककको कार्यालय रहे पनि कर्णाली प्रदेशमा शाखा सञ्‍चालनमा ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ।

‘कर्णाली प्रदेशको सुर्खेतमा शाखा सञ्‍चालन गर्नको लागि घर भाडामा लिन टेण्डर प्रकिया अघि बढाइएको छ’ शनिबार नेपाल राष्ट्र बैंकको ६४ औँ साधारणसभामा गभर्नर चिरञ्जीवी नेपालले भने। डेपुटी गभर्नर शिवराज श्रेष्ठका अनुसार कर्णाली प्रदेशका अर्को महिना देखि शाखा सञ्‍चालन गरिने भएको छ।

राष्ट्र बैंकका गभर्नर नेपालका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको निक्षेप ३० खर्ब नौ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप खाता दुई करोड ५७ लाख पुगेको छ।

हालसम्म ७२४ स्थानय तहमा वाणिज्य बैंकको शाखा खोलिएको छ। पूर्वगभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले चालू र शोधानान्तर घाटा निरन्तर घाटामा जानु सकारात्मक पाटो नभएको भन्दै ध्यान केन्द्रित गर्न आग्रह गरे। वार्षिकोत्सवको अवसरमा पूर्वगभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई विशेष सम्मान गरेको छ। कार्यक्रममा २० वर्ष सेवा गर्ने कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकको ब्‍याजदर अधिक भयो भनिए पनि बैंकरहरूले स्पष्ट कुरा राख्न नसकेको कारण आलोचना भएको टिप्पणी गरे ‘१०१ /११ प्रतिशतको ब्‍याजदर धेरै हैन, हामीले स्पष्ट कुरा राख्न नसकेको कारण आलोचित भएका छौँ’ ढुंगानाले भने।

नेपाल राष्ट्र बैंकका पूर्व तथा वर्तमान कर्मचारी संघका प्रतिनिधिले राष्ट्र बैंकको स्वायत्तता कायम गर्नको लागि आग्रह गरेका थिए। भूकबम्पबाट क्षति पुगेका राष्ट्र बैंकका बालुवाटार भवन निर्माणको काम हालसम्म पाँच प्रतिशत र थापाथली भवनको निर्माणको काम २० प्रतिशत भएको जनाएको छ।